झापा । 

मलेशियामा जुवा खेलाउने चार जना नेपाली पक्राउ परेका छन् । मलेशियाको तान्जुङ टोकङबाट अनलाइन जुवा खेलाउने धन्दामा लागेका चार जना नेपाली पक्राउ परेका हुन् । टोकङस्थित एक अपार्टमेन्टमा छापा मारेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

 उनीहरूले १५ देखि २० हजार रिंगेट करिब साढे चार लाखदेखि ६ लाख नेपाली रुपैयाँसम्मको अनलाइन जुवा खेलाउने  गरेको पाइएको मलेशियन प्रहरीले जनाएको छ । मलेसशियाको स्थानीय प्रहरी सहायक कम्मर रजलाम अब हमिदले पक्राउ परेका नेपालीहरू २७ देखि ३२ वर्ष उमेर समूहका रहेको बताइएको छ । उनीहरूको नाम र नेपाली ठेगाना भने प्रहरीले खुलाएको छैन ।

प्रारम्भिक अनुसन्धानका आधारमा तीन महिनादेखि भाडामा लिएको भवन परिसरबाट तीन वटा ल्यापटप, एउटा मोडेम, १० थान मोबाइल फोन, कुर्सी, डेस्क र लेखन सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका नेपालीहरूले रोजगारीका लागि मलेशिया गएका अन्य नेपाली कामदारहरूलाई टार्गेट गरी कम्प्युटर र मोबाइल फोनमार्फत फेसबुकबाट विभिन्न अनलाइन जुवा खेलाउने सिण्डिकेटको अपराध गरेको मलेशियन प्रहरीले जनाएको छ ।

उनीहरुलाई मुद्दा चलाउन तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको मलेशियाको सरकारी अनलाइन बर्नामाले उल्लेख गरेको छ ।