झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल ट्रेड युनियन महासंघले कल्याणकारी कार्यका नाममा नेपाली कामदारबाट ४५ अमेरिकी डलर उठाउन मलेसियाको निजी कम्पनी (एफडब्लुडब्लुएमसी) सँग बैदशिक रोजगार बोर्डले गरेको सम्झौता तत्काल खारेजीको माग गरेका छन् ।

बिहीबार संघ र महासंघले बोर्डका निर्देशक टिकाराम ढकाललाई छुट्टाछुट्टै अल्टिमेटम पत्र बुझाउँदै उनीहरुले उक्त माग गरेका हुन् ।महासंघले मलेसियासँगको उक्त सम्झौता खारेजीसँगै कामदारको योगदानबाट बनेको बोर्डको रकम अनेक शीर्षकमा जथाभावी खर्च गरेर गरिएको दुरुपयोग तत्कालै रोक्नुपर्ने माग गरेको छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले व्यवसायीसँग छलफल गर्ने भनेर पटक–पटक समय दिएपनि छलफलको समयमा मोबाइल स्वीच अफ गरी बेपत्ता भएका कारण निर्देशक ढकाललाई अल्टिमेटम पत्र बुझाएको बताउँदै उनले छक्याउने र झुक्याउने शैली अपनाए बोर्डको सचिवालयमा तालाबन्दी गर्ने व्यवसायीको तयारी रहेको पनि जानकारी दिएका छन् । 

बोर्डका कार्यकारी निर्देशक उप्रेती र मलेसियाको फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर (एफडब्लुडब्लुएमसी) का सञ्चालक तानासिलिनबीच विवादास्पद सम्झौता भएको सार्वजनिक भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त सम्झौता तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका थिए । तर मलेसियन कम्पनीसँग सम्झौता गरेको बोर्डले सम्झौता कार्यान्वयन स्थगन गर्ने निर्णय गरेको छैन ।

 कामदारले मेडिकल गरी भिसा शुल्क तिरेपछि मात्रै क्युआर कोड सिर्जना गरी बायोमेट्रिक गर्दा कम्तीमा काठमाडौंमा एक हप्ता कुर्नुपर्ने र त्यसबाट विपन्न कामदारलाई २५ हजार खर्च थप हुने व्यवसायीको भनाइ छ । उनीहरूले भिसा सेन्टरले दैनिक एक सय जना कामदारको बायोमेट्रिक गर्दा २ हजारदेखि २२ सय जनाको मात्र बायोमेट्रिक हुने र बाँकी कम्तीमा ६ हजारले बायोमेट्रिकको अवसर नै नपाउने गुनासो ब्यवसायीको गुनासो छ ।