झापा । 

बायोमेट्रिक बिनाका राहदानी लिन साउदी दूतावासले अस्वीकार गरेको छ । नेपालस्थित साउदी अरेबियाको दूतावासले रोजगारीका लागि आफ्नो मुलुक जाने नेपाली  कामदारलाई बायोमेट्रिक प्रणाली लागू गरेको छ । दूतावासले मंगलबारदेखि साउदी भिसा सेवा केन्द्र ‘तशीर’ थापाथलीबाट बायोमेट्रिक गरेका कामदारको मात्र भिसा प्रक्रियाका लागि राहदानी लिएको छ ।   

 राजधानीको थापाथलीमा स्थापना गरिएको साउदी भिसा सेवा केन्द्रले जनवरी १ तारिखदेखि वैदेशिक रोजगारीका लागि उक्त मुलुक जाने कामदारको बायोमेट्रिक लिन शुरु गरेको हो ।  नेपालका लागि साउदी अरेबियाका राजदूत साद बिन नासेर अबु हैमदले शुक्रबार मात्रै  सेवा केन्द्रको उद्घाटन गरेका थिए । उनले सूचना प्रविधिमा आएको आधुनिक परिवर्तनअ नुसार भिसा सेवाहरु प्रदान गर्ने र नेपालबाट दक्ष जनशक्ति भर्ना प्रक्रियालाई सहजीकरण गर्न साउदी भिसा सेवा केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए ।

 नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भने कामदारको बायोमेट्रिक लिने नाममा आर्थिक भार थोपर्ने र भविष्यमा सिण्डिकेटको रुपमा विकास गर्ने भन्दै साउदी भिसा सेन्टरबाट हुने बायोमेट्रिक कार्यको विरोध गरेको छ । त्यसका लागि संघलाई छाता संस्था मान्ने घटक संस्थाहरुसँग लिखित सुझाव मागिएको र सोही सुझावहरुलाई समेटेर मन्त्रालयलाई सम्भव भए बुधबार नै ज्ञापनपत्र दिने तयारी रहेको पनि संघले जनाएको छ । कतिपय व्यवसायीले भने भिसा सेन्टर र बायोमेट्रिक प्रणालीलाई साउदी सरकारको निर्णय मानि कार्यान्वयनमा सहजीकरण गरेर लैजानु बुद्धिमानी हुने बताएका छन् ।  

 दूतावासले साउदी अरेबिया जाने सबै प्रकारका भिसाका लागि आवश्यक प्रक्रियाहरु २४ घण्टाभित्रै पूरा हुने बताएको छ । तर कतिपय व्यवसायीले भिसा सेन्टरले सीमित संख्यामा मात्रा कामदारको बायोमेट्रिक गर्ने भएकाले नेपाली कामदार साउदी अरेबिया रोजगारीमा जाने परम्परागत प्रक्रियामा ढिलाइका साथै अनावश्यकरुपमा खर्चिलो हुने टिप्पणी गरेका छन् ।

 साउदी भिसा सेन्टरले नेपाली कामदारको बायोमेट्रिक फिंगरप्रिन्ट कार्य साढे चार अमेरिकी डलरमा गरिने बताएको छ । तर वैदेशिक रोजगार व्यवसायीहरुले समयको अनिश्चितताका कारणले बायोमेट्रिकका नाममा कामदारको न्यूनतम २५ हजार रुपैयाँ खर्च हुने विश्लेषण गरेका छन् ।