झापा । 

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगले आगामी दिनमा अन्तर्राष्ट्रिय श्रम बजारमा वयस्क उमेरका कामदार बढी प्रभावित हुने आंकलन गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरेको नयाँ विश्लेषणअनुसार एआईले सबै कामको लगभग ४० प्रतिशतले प्रभावित गर्न सक्ने अनुमान गरिएको छ । जस अनुसार प्रविधिसँगै अपडेट हुन नसक्ने वयस्क कामदाहरू प्रभावित हुनेछन् ।

स्विट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चमा विश्वव्यापी व्यापार र राजनीतिक नेताहरू भेला हुँदा आईएमएफको उक्त विश्लेषण आएको हो । आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले एआईको प्रयोगले असमानता बल पुर्‍याउन सक्ने भएकाले नीति निर्माताहरूले प्रविधिलाई थप सामाजिक तनाब हुनबाट रोक्न उपयुक्त नीतिका आधारमा सम्बोधन गर्नुपर्ने बताएकी छन् । 

आईएमएफले एआईको प्रयोगले उन्नत अर्थतन्त्रहरूमा लगभग ६० प्रतिशतको अनुपातमा रोजगारीमा असर गर्ने सम्भावना रहेको बताएको छ । केही अवस्थामा कामदारहरूले एआईको एकीकरणबाट उत्पादकता बढाउन सक्नेछन् भने अर्को अवस्थामा एआईले श्रमको माग घटाउने, ज्यालामा असर पारी रोजगारीलाई पनि उन्मूलन गर्ने आईएमएफको विश्लेषण छ ।

आईएमएफले एआईको प्रयोगका कारण कामदारमात्रै नभएर सिंगो मुलुक नै पछाडि पर्नसक्ने खतरा पनि औंल्याएको छ । कम आय भएका र वृद्ध कामदारहरूका लागि जीविकोपार्जनको रक्षा गर्न र असमानतालाई रोक्न पुनः तालिम कार्यक्रमहरू सञ्चालन गरेर  एआई संक्रमणलाई समावेशी बनाउन सक्ने विश्वास अन्तर्राष्ट्रिय मुद्रा कोषको छ ।

च्याट जिपीटीजस्ता एपको लोकप्रियता बढेपछि एआई पछिल्ला वर्षहरूमा विश्वव्यापी चर्चाको विषय बनेको छ । टेक्नोलोजीले विश्वभरि बढेको नियमनको सामना गरिरहेको छ । त्यसका लागि विश्वभरिका मुलुकहरूबीच सहकार्य हुनु पर्नेमा जोड दिइएको छ ।