झापा । 

मलेशियामा पाँच लाख बिदेशी कामदार बेरोजगार रहेका छन् ।  विदेशी कामदार बेरोजगार रहेको विषयमा विवाद चुलिएको पनि करिब ५ लाख संख्या बाहिर आएको हो ।  नेशनल एशोसिएसन अफ प्राइभेट इम्प्लोइमेन्ट एजेन्सीज मलेसिया (पप्स्मा) का महासचिव सुकुमारन नायरले मलेसियामा ५ लाखभन्दा बढी विदेशी कामदार गैरकानूनी रूपमा रहेको र उनीहरू बेरोजगार रहेको दाबी गरेका छन् ।

लामो समयदेखि स्रोत मुलुकका लागि नयाँ एप्रुभल रोकिएको अवस्थामा ५ लाख विदेशी कामदार बेरोजगार रहेको दाबी सार्वजनिक भएको हो । मलेसियाका मानव संशाधन मन्त्री स्टिभन सिमले ५ लाख विदेशी कामदार बेरोजगार रहेको प्रमाणित प्रतिवेदन आएमा मन्त्रालयले उपयुक्त कारबाही गर्ने बताएका छन् ।

रोजगारीका लागि आवश्यक तयारी नै नगरी बंगलादेशी कामदारलाई मलेशियामा ल्याइएको मुद्दा हालै जोहरबारूमा १७१ जना बंगलादेशी एजेन्टहरू पक्राउ परेपछि खुलासा भएको हो । बंगलादेशबाट लगिएका कामदार मलेशियामा रोजगारी नपाएपछि एजेन्टविरुद्ध नाराबाजी गर्दै प्रहरी चौकी पुगेका थिए । उनीहरूले आफुहरूलाई मलेसिया ल्याउने एजेन्टहरूले काम सुरक्षित गर्न असफल भएको दाबी गर्दै क्षतिपूर्तिको माग गरेका छन् ।

मानव संशाधन मन्त्री सिमले जनवरी १६ मा गृहमन्त्री सैफुद्दिन नासुशन इस्माइललाई भेटेर विदेशी कामदारको भर्नासहित विदेशी कामदारहरूलाई शोषण हुन नदिने विषयमा केन्द्रित हुने बताए । उनले नयाँ नियमावली र विदेशी कामदार सम्बन्धी विद्यमान कानूनमा सुधार गर्ने पनि मलेशिया सरकारले तयारी गरिरहेको बताए ।