झापा ।

आकर्षक तलब र सेवा सुबिधको प्रलोभन देखाएर अमेरिका, पोर्चुगल र टर्की पठाउने भन्दै ठग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अमेरिका पठाइदिने भनेर ५० लाख रुपैयाँमा डिल गरेर २३ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएकी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महतले अमरबहादुर पुनलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भनेर ठगी गरेको आरोप उनलाई प्रहरीले पक्राउ गरेको हो ।

महतले पुनलाई अमेरिका पुगेपछि मासिक ४ लाख तलब हुने प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारेर पटक–पटक गरी उक्त रकम लिएको उजुरी परेको र सोही उजुरीका आधारमा महतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

वैदेशिक रोजगारीका लागि टर्की र पोर्चुगल पठाइदिने भनेर ठगी गरेको उजुरीका आधारमा प्रहरी प्रहरीले संगत थापासमेत दुई जनालाई पक्राउ गरेको छ । पोर्चुगल पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्ने भन्दै १० लाख रुपैयाँ नै लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा धनकुटा चौबीसे घर भइ हाल काठमाडौं ट्याङलाफाँट बस्ने उर्मिला चेम्जोङलाई पक्राउ गरेको हो ।

 त्यस्तै रमेश थापासमेत ३ जनालाई वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भनि ५ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नवलपरासी बर्दघाटका महेश तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । तामाङले रमेश थापासमेत ३ जनालाई वैदेशिक रोजगारीका लागि टर्की पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति ४ लाख ५० हजार रुपैयाँ लाग्ने  भनि पटक–पटक गरी रकम लिइ ठगी गरेको आरोप छ। पक्राउ परेका उनीहरुलाई प्रहरीले थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।