बिराटनगर।
धनकुटा, मोरङ र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागूऔषध गाँजा र ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चौकबाट ईलाका प्रहरी कार्यालय भेडेटारको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को ३० प ४५१५ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा चालक धनकुटा–१ हिलेका २२ बर्षीय तिलक राना मगरको साथबाट लागूऔषध गाँजा १ केजि फेला पारेसगै उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–३ मा लागूऔषध बिक्री बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थाई प्रहरी पोष्ट बसपार्कको प्रहरी टोलीले ५३ बर्षीय बलबहादुर कार्कीलाई १ केजी ६५० ग्राम गाँजासहित पक्राउ गरेको हो ।
त्यस्तै बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ४० प २४३ नम्बरको स्कुटरलाई शंका लागि चेकजाँच गर्दा उक्त स्कुटरमा लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा ५२ मिलिग्राम ब्राउन सुगर फेला पारी स्कुटर चालक धरान–८ का २७ बर्षीय सचिन प्रधान र पछाडी सवार षडानन्द नगरपालिका–२ भोजपुरकी २३ बर्षीया प्रतिमा राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
लागू औषधसहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।