झापा । 

वैदेशिक रोजगार बोर्डका निर्देशक डा. द्वारिका उप्रेतीले मलेशियाको निजी कम्पनीसँग गराएको सम्झौताको बिषयमा अनुसन्धान शुरु भएको छ । परराष्ट्रमन्त्री नारायण साउदले उप्रेतीले मलेशियाकाको निजि कम्पनी फरेन वर्कर वेलफेयर म्यानेजमेन्ट सेन्टर (एफडब्लुडब्लुएमसी) बीचको सम्झौताको कानूनी र आर्थिक पाटोमा अनुसन्धान शुरु गराएका छन् ।

 नेपालबाट वैदेशिक रोजगारमा मलेसिया जाने कामदारको कल्याणकारी कार्यका लागि  मलेसियाको निजी कम्पनी एफडब्लुडब्लुएमसीले प्रति कामदार ४५ अमेरिकी डलर लिने सम्झौता कार्यान्वयनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियास्थित नेपाली दूतावासलाई पत्राचार गर्न आग्रह गरी परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको थियो । सोही सन्दर्भमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्षसहित अग्रज व्यवसायीहरुको टोली सोमबार परराष्ट्रमन्त्री साउदलाई ध्यानाकर्षण गराउने उद्देश्यसहित परराष्ट्र मन्त्रालय पुगेको थियो ।

व्यवसायीसँगको छलफलपछि मन्त्री साउदले मलेसियासमेत पूर्वी एसियाली देश हेर्ने महाशाखा प्रमुख र कानूनका उपसचिवलाई कार्यकक्षमा बोलाएर मलेसियासम्गको श्रम सम्झौता र बोर्डका निर्देशकले गरेको सम्झौताका विषयको एक रुपता र तादम्यताका विषयमा अध्ययन गर्न निर्देशन दिएको भेटमा सहभागी संघका पूर्वअध्यक्ष रोहन गुरुङले जानकारी दिएका छन्। 

मन्त्री साउदलाई ध्यानाकर्षण गराउन पूर्वअध्यक्ष गुरुङ, पूर्वअध्यक्ष विमल ढकाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने, संघका पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री, संघका पूर्वमहासचिव सुजित श्रेष्ठ, एशोसिएसनका पूर्वउपाध्यक्ष तारानाथ अर्याल, पूर्वसचिव नारायण पराजुली, सचिव विनोद केसी, संघ कार्यसमिति सदस्य विक्रम श्रेष्ठलगायत परराष्ट्र मन्त्रालय पुगेका थिए ।