काठमाडौं । 

वैदेशिक रोजगार विभागले युद्धग्रस्त मुलुक रुसमा वैदेशिक रोजगारीका लागि नेपाली नागरिकलाई श्रम स्वीकृति दिन रोक लगाएको छ ।  युक्रेनमा भने गत वर्षदेखि नै श्रम स्वीकृति दिन बन्द गरिएको थियो । रुस–युक्रेन युद्धमा १० जना नेपालीको ज्यान गएको औपचारिक रुपमा सार्वजनिक भएपछि विभागले दुवै देशमा व्यक्तिगत तथा संस्थागत रुपमा श्रम स्वीकृति दिन रोक लगाउने निर्णय गरेको हो ।

विभागले एक सूचना जारी गर्दै नेपाली नागरिकहरु रुस जाँदा हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न अर्को व्यवस्था नभएसम्म रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको जनाएको छ ।

रुस र युक्रेनबीचको युद्धमा अन्य केही नेपाली घाइते र सयौं जना सम्पर्कविहीन बनेका छन् । यसअघि परराष्ट्र मन्त्रालयले रुस तथा युक्रेन जान कन्सुलर सेवा विभागबाट नो अब्जेक्सन लेटर (एनओसी) अनिवार्य गराएको थियो ।