झापा । 

दुई जना वैदेशिक रोजगार व्यवसायीमाथि आक्रमणमा संलग्नहरुलाई कानूनअनुसार कारबाहीको प्रक्रिया अघि बढाउन प्रहरीले अनिच्छा देखाएको व्यवसायीहरुले बताएका छन् । बुधबार टोखा नगरपालिका–५ बसुन्धारास्थित अलर्ट ओभरसिज प्रालिका सञ्चालक देवकुमार खोखाली र टोखा वडा नं. ७ मा रहेको बोन मेनपावर प्रालिका सञ्चालक युवराज रेग्मीमाथि सांघातिक आक्रमण भएको थियो ।

१७ जना आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले चुनबहादुर तामाङ, प्रशान्त थोकर, रविन्द्र तामाङ, जनक राई, तेजबहादुर तामाङ, साङबहादुर तामाङ र दानबहादुर लामासहित ७ जनालाई मात्र पक्राउ गरेको छ । बृज स्काई मेनपावर प्रालिबाट वैदेशिक रोजगारका लागि साउदी अरेबिया गइ ९ महिनापछि स्वेच्छिक रुपमा फिर्ता आएका चुनबहादुर तामाङले आफ्नो साथमा अन्य व्यक्तिहरुलाई ल्याएर आक्रमण गरेको घाइते व्यवसायीले बताएका छन् । आक्रमणमा गम्भीर घाइते भएका खोखाली र रेग्मी ग्रिनसिटी अस्पतालमा उपचारार्थ भर्ना भएका छन् । 

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी  एशोसिएसनका पूर्व कार्यसमिति सदस्यसमेत रहेका खोखालीका नाकको हड्डी भाँचिएको र अनुहार तथा शरीरका विभिन्न भागमा चोट रहेको छ । अर्का व्यवसायी रेग्मी पनि घाइते छन् । घाइते खोखालीले खुँडा, तरबार, चक्कुजस्ता घरेलु हतियार र फलामको रड लिएर ज्यान मार्ने नियतले आफूमाथि संगठित र योजनाबद्ध तरिकाले आक्रमण गर्दासमेत महानगरीय प्रहरी बृत्त महाराजगञ्जले ज्यान मार्ने उद्योगमा कारबाही गर्ने अनुसन्धानका लागि जाहेरी दर्ता नगरी आलटाल गरेको बताएका छन् । 

 बिहीबार अर्का घाइते रेग्मीको तर्फबाट अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि जाहेरी दर्ता गरिएको छ । पक्राउ परेकाहरुलाई बिहीबार नै जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर थुनामा राखिएको छ । आक्रमणमा संलग्न अन्य दश जना फरार रहेका छन् । घाइते व्यवसायीहरुले कार्यालय तोडफोड गरी मोबाइल सेट र दुई तोलाको सुनको सिक्रीलगायतका सामान लुटपाट गरेकाले ती समान फिर्ता तथा सम्पूर्ण उपचार खर्च र क्षतिपूर्ति भराउन माग गरेका छन् ।

पटक–पटक अनुरोध गर्दा पनि प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरेको भन्दै ठूलो संख्यामा वैदेशिक रोजगार व्यवसायीहरु महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा उपस्थित भएका थिए । उनीहरुले जाहेरी लिनमात्रै नभएर प्रहरीका तर्फबाट फरार व्यक्तिहरुको खोजीका लागि पनि आवश्यक तदारुकता नदेखाइएका कारण सम्पूर्ण व्यवसायीमाथि असुरक्षाको थ्रेट बढेको व्यवसायीहरुले बताएका छन् । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले विज्ञप्ति जारी गर्दै सरकारसँग व्यवसायीमाथि आक्रमण गर्नेमाथि कानूनी कारबाहीको माग गरेका छन् ।  प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल तथा गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका कार्यबाहक अध्यक्ष प्रमेश्वर अधिकारीले पनि व्यवसायीहरुमाथि भएको आक्रमणको निन्दा गर्दै संगठितरुपमा व्यवसायीका कार्यालयमा प्रवेश गरी सांघातिक आक्रमण गर्ने व्यक्तिहरुलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।