झापा । 

नेपाल विद्यार्थी संघले कोरिया भाषा परीक्षा र वैदेशिक रोजगारीमा जाने अन्य युवाहरूले भोगिरहेका समस्या समाधानका लागि सरकारसँग माग गरेको छ । 

नेविसंघका नेताहरुले सोमबार वैदेशिक रोजगार विभागमार्फत् सरकारलाई ध्यानाकर्षण पत्र बुझाउँदै कोरिया भाषा प्रणालीसहित वैदेशिक रोजगारीमा सर्वसाधारणले भोगिरहेका समस्या समाधान गर्न माग गरेका हुन् ।

गत शुक्रबार बालकुमारीमा सरकारको कमजोरीका कारण रोजगारीका लागि कोरिया जान चाहने दुई युवाको ज्यान गएको भन्दै नेविसंघले कोरियासहित वैदेशिक रोजगारीमा विभिन्न देश जाने युवाहरुलाई उपयुक्त बातावरण बनाउन नेविसंघले ध्यानाकर्षण गराएको छ ।

सोमबार नेविसंघको एक प्रतिनिधि मण्डलले विभागका महानिर्देशकलाई भेटेर वैदेशिक रोजगारीमा जानेहरुलाई श्रम स्वीकृति, भाषा प्रशिक्षण, तालिम र सरकारले सहजीकरण गर्नुपर्ने सबै सेवाहरुलाई व्यवस्थित बनाउन आग्रह गरेको केन्द्रीय सदस्य भुवन भट्टले जानकारी दिए । 

रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठुलो हिस्सा राखिरहेको अवस्थामा वैदेशिक रोजगारीलाई सम्मानजनक क्षेत्रकोरुपमा विकास गर्नुपर्ने नेविसंघले मागसमेत गरेको छ ।