झापा । 

साउदी अरेबियाको दूतावासबाट जवाफ प्राप्त नभएसम्म वैदेशिक रोजगारीमा साउदी जाने कामदारको बायोमेट्रिक नगर्न व्यवसायीलाई आग्रह गरिएको छ । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले  साउदी दूतावासले नयाँ वर्ष २०२४ को जनवरी १ तारिखदेखि नेपालबाट वैदेशिक रोजगारीका लागि साउदी अरेबिया जाने कामदारको बायोमेट्रिक लागू गर्ने तयारी गरेको जनाएको छ ।  

संघका महासचिव मेघनाथ भुर्तेलले विज्ञप्ति जारी गर्दै गत वैशाख २९ गते साउदी दूतावासले बायोमेट्रिक प्रणाली फेमिलि भिसा र भिजिट भिसामा जाने नेपालीलाई मात्रै लागू हुने जानकारी दिएपछि संघले कामदारको बायोमेट्रिक नगर्न व्यवसायीलाई आग्रह गरेको हो । 

सोहीअनुसार परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराएर पत्राचार गरेपछि कामदारलाई लागू हुनबाट रोकिएको अवस्थामा हाल श्रम मन्त्रालयको कुनै सहमति तथा अनुमतिबिना साउदी दूतावासले एकपक्षीय रूपमा बायोमेट्रिक लागू गर्न खोजेको जनाइएको छ । 

 नेपालबाट साउदी अरब जाने आर्थिक रूपमा कमजोर अवस्थामा रहेका कामदारलाई अधिक आर्थिक भार पार्ने गरी नेपाल सरकारको अनुमतिबिना सञ्चालनमा ल्याउन लागिएको बायोमेट्रिक प्रणाली हटाउन पहल गर्न आग्रह पनि गरिएको जनाइएको छ । 

 नेपाल सरकारले खाडी तथा मलेसिया जाने कामदार फ्रि भिसा फ्रि टिकटको निर्णयअनुसार न्यून लागतमा जान पाउने व्यवस्था गरेको छ । तर कामदारलाई आर्थिकभार पार्ने गरी एकपछि अर्को संयन्त्र खडा गर्ने र आर्थिकभार बढाउने काम भइरहेको छ ।