कनकाई । 

धान्यपुर्णिमा अर्थात उधौली पर्व आज देशभर हर्ष उल्लासका साथ मनाएको छ। हरेक वर्ष मंसीर पुर्णिमाका दिनमा धान्यपुर्णिमा अर्थात   उधौली पर्व मनाउने गरिन्छ ।  खेती किसानीका आधारमा उधौली र उभौली दुई समयमा बाँडिएको छ  । त्यस्तै, वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसानी गर्नका लागि मनाइने पर्व उभौली हो भने बाली भित्र्याउने समयमा उधौली पर्व मनाउने गरिन्छ । 

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने  प्रचलन पनि रहेको छ।

यसैबीच मंसीर पूर्णिमाका दिनमा मनाइने उधौली पर्वको अवसरमा झापाको कनकाई नगरपालिका तथा बाह्रदशी गाउँपालिका  क्षेत्र भित्र रहेका सम्पूर्ण खब्तडी बस्नेतहरुको साझा संस्था खब्तडी बस्नेत बन्धु सेवा समितिद्वारा  धान्यपुर्णिमा (उधौली पर्व) को अवसरमा  कुलपुजा (गोठको धुप)  तथा जेष्ठ दुई जना आमा बुबालाई सम्मान गरेको छ।

कनकाई–१, दुर्गपुर स्थित राजेन्द्र बस्नेतको घरमा आयोजना गरेको कार्यक्रममा कुलपुजा (गोठको धुप)  तथा कनकाईका देबबहादुर बस्नेत तथा  विष्णुमाया बस्नेतलाई जेष्ठ माता र पिताका रुपमा फुलमाला, दोसल्ला र प्रमाणपत्रबाट समान गरिएको हो। खब्तडी बस्नेत बन्धु सेवा समाज कनकाई तथा बाह्रदशीका अध्यक्ष तुलाराम बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कुलबहादुर बस्नेतले  स्वागत गरेका थिए । 

कार्यक्रममा अध्यक्ष बस्नेतले औचित्य माथि प्रकाश पार्दै भावी योजनाका बारेमा समेत बन्धुहरुलाई अवगत गराएका थिए । कार्यक्रमको अवसरमा सस्थापक तथा आजिवन एक दर्जन बढी सदस्यहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको समाजका अध्यक्ष मनोज बस्नेतले जानकारी दिए।

कार्यक्रममा चम्फापुर माध्यमिक विध्यालय व्यवस्थापन समितिकि अध्यक्ष सीता बस्नेत, खब्तडी बस्नेत बन्धु सेवा समाजका सल्लाहकार डिल्लीराम बस्नेत, होमबहादुर बस्नेत लगायतले बन्धुहरुको विगतको इतिहासका बारेमा चर्चा गरेका थिए । कुलपुजासँगै सम्मान कार्यक्रमकै अवसरमा साधारणसभा पनि सम्पन्न गरिएको छ।  साधारणसभाको अवसरमा सस्थाको आर्थिक प्रतिवेदन समाजका कोषाध्यक्ष चन्द्र बस्नेतले प्रस्तुत गरेका थिए भने पुजामा भएको सम्पुर्ण खर्च कुलपुजाको आयोजना कर्ता समाजका सदस्य राजेन्द्र बस्नेतले गरेका थिए । 

कार्यक्रममा दुई पालिकाभित्रका करीब ७० बढी  बस्नेत बन्धु सहभागी रहेको कार्यक्रमको सन्चालन समाजका सचिव मनोज बस्नेतले गरेका थिए । आगामी बैशाखमा हुने कार्यक्रम कनकाई ४ स्थित भोजकुमारी बस्नेतको घरमा हुने पनि बताइएको छ ।