काँकरभिट्टा ।
भारतको हैदरावादमा सम्पन्न १० औँ स्ट्रेन्थ लिफ्टिङ्ग वल्ड च्याम्पियन सिपमा नेपालले १६ स्वर्ण, १४ रजत र ४ वटा कास्य पदक जितेको छ । त्यसमध्ये झापाले ३ स्वर्ण र २ वटा रजत पदक हात पारेको छ । हैदरावाद स्थित लालबहादुर शास्त्री इन्डोर स्टेडीयममा यहि पुस २ गतेदेखि ५ गतेसम्म सञ्चालित स्ट्रेन्थ लिफ्टिङ्ग विश्वकपमा भाग लिन गएका खेलाडीहरुले सो पदकहरु जित्न सफल भएका हुन् ।
नेपाल स्ट्रेन्थ लिफ्टिङ्ग एशोसिएशनको तर्फबाट १५ जना महिला, ६ जना अन्तराष्ट्रिय रेफ्रीसहित ४५ जना खेलाडीहरु सहभागी भएका थिए । स्ट्रेन्थ लिफ्टिङ्गको विभिन्न विधामा झापाबाट भाग लिएका खेलाडीहरुले ३ वटा स्वर्ण र २ वटा रजत पदक जितेको नेपाल स्ट्रेन्थ लिफ्टिङ्ग एशोसिएशन झापाका पूर्व अध्यक्ष एवम् अन्तराष्ट्रिय रेफ्री अर्जुन क्षेत्री लम्सालले जानकारी दिए ।
उनका अनुसार झापाकी खेलाडी सोनी दासले एउटा स्वर्ण र एउटा रजत पदक हात पारेकी छिन् । त्यस्तै खेलाडी प्रशिद्वभक्त लावटले एउटा स्वर्ण र एउटा रजत पदक जितेका छन् भने खेलाडी मेनुका पौडेलले एउटा स्वर्ण पदक जित्न सफल भएको उनले बताए ।
यसपटक विभिन्न विधामा सहभागी सिनियर र जुनियर महिलाहरुले बढी पदक ल्याउन सफल भएका छन् । धरानका कविर भगत प्रधानाङ्गले रजत पदक जितेको लम्सालले बताए । स्ट्रेन्थ लिफ्टिङ्गमा युरोप, अमेरिका, एशियासहित १६ वटा मुलुकका खेलाडी तथा रेफ्रीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा १३ वर्षदेखि ८० वर्षसम्म वजन समुहका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । यसअघि तिर्किस्थानमा भएको ९ औं स्ट्रेन्थ लिफ्टिङ्ग विश्वकपमा नेपालका ३ जना खेलाडीले मात्र पदक जितेका थिए ।