भद्रपुर। 

बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा बुद्धशान्तिले झापा गाउँपालिकामाथि शानदार जित दर्ता गरेको हो । खेलको अधिकांश समय बुद्धशान्तिले झापालाई दबाबमा राखेको थियो । झापालाई ५–१ गोल अन्तरले हराउँदा जारी प्रतियोगितामा बुद्धशान्तिका बोहोराको व्यक्तिगत १२ गोल भएको छ । उनले तीन खेलमा चारचार गोल गरेका थिए ।

खेलको २९ औँ, ४३ औँ, ६४ औँ र ७५ औँ मिनेटमा बबिनले बुद्धशान्तिका लागि गोल गरेका थिए । बुद्धशान्तिले एक गोल उपहारस्वरुप पाएको थियो । झापाका लागि ४० औँ मिनेटमा अनिश खड्काले सान्त्वना गोल फर्काएका थिए ।

खेलको प्लेयर अफ दि म्याच बुद्धशान्तिका बबिन बोहोरा भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले, समाजसेवी गंगाप्रसाद ओलीलगायतले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

त्यस्तै, आजको अन्तिम सेमिफाइनल खेलमा अर्जुनधारा नगरपालिका विजयी भएको छ । अर्जुनधाराले मेचीनगर नगरपालिकालाई ३–१ गोल अन्तरले हराएको हो । खेलको पहिलो हाफमा दुवै पालिकाबीच कडा प्रतिस्पर्धा भएको थियो । तर, दोस्रो हाफमा अर्जुनधाराले मेचीनगरलाई दबाबमा राखेको थियो । खेलको सुरुवाती अग्रता मेचीनगरले लिए पनि नतिजा उल्टाउँदै अर्जुनधारा फाइनल प्रवेश गरेको हो ।

खेलको १६ औँ मिनेटमा मेचीनगरका रिक्की श्रेष्ठले गोल गरेका थिए । तर, ३९ औँ मिनेटमा अर्जुनधाराका निखिल तामाङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यस्तै, अर्जुनधाराका लागि खेलको ५२ औँ र ७१ औँ मिनेटमा राजेश दाहालले गोल गर्दै जित निश्चित बनाए ।

खेलको प्लेयर अफ दि म्याच अर्जुनधाराका राजेश दाहाल भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन, समाजसेवी गंगाप्रसाद ओली लगायतले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेल बुद्धशान्ति र अर्जुनधाराबीच मंसिर २४ गते दिउँसो २ बजे हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।