भद्रपुर ।

 बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा बुद्धशान्तिले शिवसताक्षीमाथि शानदार जित दर्ता गरेको हो । खेलको अधिकांश समय बुद्धशान्तिले शिवसताक्षीलाई दबाबमा राखेको थियो ।

शिवसताक्षीलाई ४–० गोल अन्तरले हराउँदा जारी प्रतियोगितामा बुद्धशान्तिका बोहोराको व्यक्तिगत ८ गोल भएको छ । खेलको ११ औँ, ४१ औँ, ६६ औँ र ७९ औँ मिनेटमा बबिनले बुद्धशान्तिका लागि गोल गरेका थिए । खेलको प्लेयर अफ दि म्याच भएका उनले नगद दुई हजार र ट्रफी पाए ।

उनलाई गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठ, शिवसताक्षीका नगरप्रमुख मेगाहाङ थोप्रा, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

त्यस्तै, आजको दोस्रो क्वार्टर फाइनल खेलमा झापा गाउँपालिका विजयी भएको छ । झापाले भद्रपुर नगरपालिकालाई १–० गोल अन्तरले हराएको हो । खेल अवधिभर दुवै पालिकाबीच कडा प्रतिस्पर्धा भए पनि खेलको ७१ औँ मिनेटमा झापा गाउँपालिकाका किरण उराउले गरेको गोल नै निर्णायक बन्यो ।

खेलको प्लेयर अफ दि म्याच झापा गाउँपालिकाका उमेश मुर्मू भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, उद्योगी होम पाण्डेले नगद दुई हजार र ट्रफी प्रदान गरे । जितसँगै झापाले फाइनल प्रवेशका लागि बुद्धशान्तिको सामना गर्नेछ । खेल मंसिर २२ गते हुनेछ ।

खेल तालिका अनुसार तेस्रो कवार्टर फाइनल खेल भोलि मंसिर २० गते अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाबीच हुनेछ भने अन्तिम क्वार्टर फाइनल खेल मेचीनगर नगरपालिका र गौरादह नगरपालिकाबीच हुने अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।