काँकरभिट्टा ।
देशको पूर्वी नाकाबाट नेपाल–भारत सीमा स्तम्भ मर्मत र रंगरोगनको काम सोमबारदेखि शुरु भएको छ । नेपाल तथा भारतका सुरक्षा संयन्त्रको संयुक्त उपस्थितिमा मेचीनगर र भद्रपुर नगरपालिकाका नगर प्रमुखले मेचीनगर नगरपालिका वडा नम्बर–७ स्थित सीमा स्तम्भको मर्मत र रंगरोगनको कार्य थालनी गरेका हुन् ।
सशस्त्र प्रहरीको नम्बर १ बाहिनीका बाहिनीपति डअीाईजी अञ्जनीकुमार पोखरेलले कोशी प्रदेशमै पहिलो पटक नेपाल र भारतको सीमाना छुट्याउने सीमा स्तम्भको मर्मत सम्हारसँगै रंगरोगन थालनी गरिएको जनाए ।
उनले भारतसँग सीमा जोडिएका कोशी प्रदेशका सबै जिल्लाको सीमा स्तम्भलाई व्यवस्थित गरिने जनाए ।डीआईजी पोखरेलले सीमामा हुने आपराधिक गतिविधि, तस्करी नियन्त्रण र सीमाको सुरक्षामा सशस्त्र प्रहरी सदैव अग्रमोर्चामा खटिने जनाए ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का कमान्डेन्ट नवीनकुमार राई, सशस्त्र प्रहरी नम्बर २ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याललगायतको उपस्थिति थियो ।