झापा । 

अमेरिका पठाइदिने बहानामा १५ लाख रुपैयाँ ठगी गर्ने आमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ का ३६ वर्षीय विशाल श्रेष्ठ र ६४ वर्षीया उनकी आमा शान्ति श्रेष्ठ पक्राउ परेका हुन् ।

उनीहरुले चन्द्रबहादुर रावललाई वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिने भन्दै रकम असुलेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । रावललाई अमेरिका पुर्‍याउने र प्रतिष्ठित कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलब हुने कामको खोजीका लागि ४० लाख रुपैयाँ लाग्ने विश्वास दिलाएर १५ लाख रुपैयाँ लिएको उजुरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।

रावलबाट १५ लाख रुपैयाँ लिइ विशाल सम्पर्कविहीन भएका थिए । प्रहरीले उनीहरुलाई बानेश्वरबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई वैदेशिक रोजगार ऐनअनुसार थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।