झापा । 

वैदेशिक रोजगारीमा पोर्चुगल र साउदी पठाउने भन्दै रकम ठगी गर्ने तीन जालाई प्रहरीले पक्राउ गरेको छ । पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठगेको उजुरीका आधारमा प्रहरीले रोल्पा गंगादेव गाउँपालिका–३ घर भइ काठमाडौं महानगरपालिका–२६ बस्ने ३९ वर्षीय निमराज डाँगीलाई पक्राउ गरेको छ ।

डाँगीले जोनसन श्रेष्ठलाई पोर्चुगल पठाउने बहानामा १० लाख रुपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा डाँगीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले सागर लामिछानेलगायतका व्यक्तिलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने र प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्छ भनेर सात लाख पाँच हजार रुपैयाँ लिइ सम्पर्कविहीन भएका बुद्ध पञ्चकोटीलाई पक्राउ गरेको थियो ।

उता जमाल अहमद फकिरलाई साउदी अरब पठाइदिन्छु भन्दै ठगी गरेको उजुरीका आधारमा  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका वडा नं. ७ घर भइ हाल काठमाडौंको सिनामंगल बस्ने ५८ वर्षीय इब्राहिम मियालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।