झापा । 

बैदेशिक रोजगारीका लागि जाने कामदारले सहज रुपमा श्रम स्वीकृतिका नपाउँदा समस्या उत्पन्न भएको छ । वैदेशिक रोजगार विभागले प्रयोगमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा पटक–पटक समस्या आएपछि श्रम स्वीकृतिमा समस्या आएको हो । बिभागले श्रम स्वीकृतिका लागि फाइल अपलोड नगर्न आग्रह गरेको छ । 

प्रणालीमा समस्या देखिएको समय डेढ महिनाभन्दा बढी भइसकेको छ । प्रणालीमा फाइल अपलोड नहुने र पटक–पटक ‘इरर’ देखाउने समस्या बढेको हो ।  प्रणालीमा समस्या आएपछि मर्मतका लागि विभागका आईटी इन्जिनियरहरूले लामो मेहनत र प्रयास गरेपनि समस्या समाधान नभएपछि विभागले शुक्रबार सूचना प्रकाशित गरेको थियो । उक्त सूचनामा फाइल अपलोड गर्दा समस्या आएकोले अर्को सूचना प्रकाशित नभएसम्म श्रम स्वीकृतिका लागि कुनैपनि फाइल अपलोड नगर्न आग्रह गरेको छ।

श्रम स्वीकृतिमा ढिलाइ भएपछि वैदेशिक रोजगारमा जाने कामदार र उनीहरूलाई पठाउने व्यवसायीले निराशा व्यक्त गरिरहेका बेला विभागले समस्या समाधान नभएको बताएको हो । विभागका कम्प्युटर इन्जिनियर नरेन्द्रप्रसाद दासले प्रणालीमा समस्या उत्पन्न भएका कारणले व्यवसायी तथा कामदारलाई भएको असुविधाप्रति विभाग क्षमाप्रार्थी भएको बताए पनि प्रणालीमा देखिएको समस्याको कहिले समाधान हुन्छ भन्नेबारे केही बताएका छैनन् ।

खासगरी अनलाइन प्रणालीबाट चाहेको समयमा भौतिक उपस्थिति बिना नै श्रम स्वीकृति पाउने विश्वासमा र कामदारको सहजता र छिटो उडान सुनिश्चितताका लागि पहिले नै जहाज टिकट लिएका कामदारहरू श्रम स्वीकृति नपाउँदा रोजगार गन्तव्यमा जान नपाएको गुनासो गर्दै आएका छन् । उनीहरूको पैसा फिर्ता नहुने भएकाले टिकट खेर जाने अवस्था छ । समयमा कम्पनीमा नपुग्दा कतिपयले रोजगारी नै गुमाउनु पर्ने उनीहरूको भनाइ छ । श्रम स्वीकृति नपाउँदा गत बुधबार कार्यालय परिसरमा कामदारहरु होहल्लामा उत्रिँदा तनावको अवस्थासमेत उत्पन्न भएको थियो ।