विर्तांमोड ।
झापाको बिर्तामोड–१ स्थित देबी पञ्चकन्यामा सञ्चालित इस्र्टन इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट (इकम कलेज) ले राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको पूर्णकदको शालिक निर्माण पूरा गरी अनावरण गर्ने भएको छ ।
कलेजले निर्माण गरेको शालिकको आगामी मंसीर ९ गते शनिवार पूर्व राजा ज्ञानेन्द्र शाहले अनाबरण गर्ने तयारी गरेको बुधबार (आज) कलेजमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
सोही अवसरमा ८ बर्ष अघिदेखि सञ्चालित कलेजको समेत उद्घाटन गरिने कलेका सञ्चालक आलोक कार्कीले पत्रकार सम्मेलनमा बताएका छन् । शाहको योगदानको बृहत्तर सम्मान गर्दै इकम कलेज परिसरमा राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको पूर्णकदको शालिक निर्माण गरेकोे सञ्चालक कार्कीले बताए ।
राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको पूर्णकदको शालिक नेपाल निमाण गर्ने राष्ट्र निर्माताको ऐतिहासिक योगदानको सर्वत्र कदर गर्दै समयको माग अनुसार निर्माण गरिएको सञ्चालक कार्कीले जानकारी दिए ।
सञ्चालक कार्कीले राजसंस्थासँग जोडेर नभई राष्ट्र निर्माताका रुपमा पृथ्वीनारायण शाहको प्रतिकका रूपमा सम्मान गर्दै शालिक निर्माण गरी अनावरण गरिने तयारी गरेको बताए ।
भावी कार्यक्रममा राष्ट्रिय झण्डा मात्रै राखिने सन्ततिका लागि नेपाल एकीकरण गर्ने राष्ट्र निर्माताका रुपमा पृथ्वीनारायण शाह भएको समेत उनले जानकारी दिए । इतिहास र राष्ट्र प्रेम बिद्यार्थीलाई जागृत गर्ने उदेश्यले पृथ्वीनारायण शाहको शालिक निर्माण गरी अनावरण गर्न लागिएको उनको भनाई छ ।
पूर्व राजा पृथ्वीनारायण शाहकै वंशज पूर्व राजा ज्ञानेन्द्र शाह भएकाले उनकै हातबाट शालिक अनावरण गर्न लागिएको उनले जानकारी दिए । राष्ट्रियता र राष्ट्रिय एकतालाई मजबुत बनाउन पनि उनले सबैलाई आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा कलेजका निर्मल निरौलालगायतको उपस्थिति रहेको थियो ।
इकम कलेजले होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र बिजनेस स्टडी अध्यापन गराउँदै आएको सञ्चालक कार्कीले जानकारी दिए ।