झापा । 

कृषि कामदारको कमी भएको भन्दै इजरायलले कृषि क्षेत्रका लागि विदेशबाट कामदार लैजाने प्रक्रियालाई पुनः तीव्रता दिएको छ । प्यालेस्टाइनको लडाकु संगठन हमासको आक्रमणपछि अधिकांश कृषि कामदार असुरक्षाको कारण देखाउँदै स्वदेश फर्किएपछि हाल इजरायलमा कृषि कामदारको समस्या बढेको छ ।

विद्रोही हमाससँगको लडाइँ समाप्त हुने परिस्थिति देखिएपछि इजरायलले कृषि क्षेत्रमा हुनसक्ने विदेशी कामदारको अभाव परिपूर्ति गर्न कामदार ल्याउने कामलाई तीव्रता दिएको जनाइएको छ । मंगलबार साँझ कतारको विदेश मन्त्रालयले हमास र इजरायलका बन्दी रिहाइका लागि वार्ता अन्तिम चरणमा पुगेको बताएको छ । त्यसले अब युद्ध रोकिने विश्लेषण गरिएको छ ।

इजरायलले आगामी तीन महिनाभित्र कृषि कामदार लैजान पाउने गरी निजी क्षेत्रलाई अनुमति दिएको हो ।उक्त अनुमतिपछि दक्षिण एशियाली मुलुक श्रीलंका र भारत तथा पूर्वी एशियाली मुलुक इन्डोनेशिया र भियतनामबाट कृषि कामदार इजरायल पठाउन प्रक्रिया तीव्र पारिएको बुझिएको छ ।

कृषि कामदारको समस्या भएपछि नेपालबाट समेत विगतमा लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत विद्यार्थी इजरायल गएका थिए । तर हमासको आक्रमणमा दश नेपाली विद्यार्थीको मृत्यु भएपछि अन्यलाई उद्धार गरी फर्काउनु परेको थियो । अन्य देशबाट गएका कृषि कामदार पनि स्वदेश फर्केका छन् । हमासको अपहरणमा परेका विद्यार्थी विपिन जोशी अझैसम्म मुक्त भएका छैनन् । युद्धपछि अनिश्चितकालीन रूपमा श्रम स्वीकृति रोकेको नेपालको वैदेशिक रोजगार विभागले मंगलबारसम्म इजरायलको श्रम स्वीकृति भने खोलेको छैन ।