झापा । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको श्रम विज्ञ समितिले अध्ययन शुरु गरेको छ । विज्ञ समितिले शुरुमा मन्त्रालयले तर्जुमा गरेको हालको वैदेशिक रोजगार नीतिमाथि अध्ययन तथा पुनरावलोकन गर्नेछ ।

विश्व श्रम बजारमा आगामी दशकहरुमा देखापर्न सक्ने चुनौती र प्रविधिका पक्षमा हुनसक्ने परिवर्तन र त्यसका असरहरुको समेत समितिले पहिचान गरि समाधानका उपायबारे सिफारिस गर्ने जनाइएको छ । 

डा. गणेश गुरुङको संयोजकत्वमा  गठन भएको विज्ञहरुको कार्यदलले अध्ययन प्रारम्भ गरेको छ । मन्त्रालयले डा. गुरुङको संयोजकत्वमा  विज्ञ समूहको समिति गठन गरेको थियो । समितिमा डा.केशव बस्याल, मञ्जु गुरुङ, प्रतिमा शर्मा र जुना माथेमा सदस्य रहेका छन् । श्रम मन्त्रालयको प्रशासन शाखाका उप–सचिवलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

 सोमबार संयोजक डा.गुरुङ नेतृत्वको विज्ञ समूहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग अध्ययनको कार्यादेश र समयावधिका बारेमा छलफल गरेको छ । छलफलमा डा. बस्याल बाहेक सबै सहभागी रहेका थिए । समितिलाई २ महिनाको कार्यदेश दिएपनि अध्ययन नसकिएको अवस्थामा समय थप हुने पनि जनाइएको छ ।

अध्ययन समितिले आवश्यकता अनुसार अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम), रिटर्नी कामदारको नेटवर्क, वैदेशिक रोजगार व्यवसायी संघलगायतका संस्थाहरुसँग अन्तरक्रिया गर्नेछ ।