बिर्तामोड ।
मेडिकल ब्यवसायी दुर्गा प्रसाईले आगामी मंसिर ७ गतेदेखि शुरु गर्ने महाअभियानलाई समर्थन तथा सहयोग गर्न नेपाल हिन्दू राष्ट्र पुनस्र्थापना मञ्चका अध्यक्ष तथा विश्व मानव अधिकार संरक्षण आयोगका उपाध्यक्ष डा. बिष्णुप्रसाद वराल झापा आएका छन् ।
डा. बरालले शनिवार साँझ बिर्तामोडमा पत्रकारहरुसँगको भेटघाटमा प्रसाईको महाअभियानलाई साथ तथा सहयोग गर्दै हिन्दू राष्ट्र स्थापना गर्ने बताएका छन् । उनले विश्वका सम्पूर्ण हिन्दूबादीको दुतको रुपमा प्रतिनिधित्व गर्दै आएको बताउँदै आवश्यक परेको खण्डमा शक्ति प्रदर्शन गर्ने समेत चेतावनी दिएका छन् ।
विश्वका सम्पूर्ण हिन्दूवादीको आव्हान, भारतका सवै हिन्दूवादीको आव्हान, अखडा परिषदको आव्हान, शंकराचार्यको आव्हानले एउटा सन्देश लिएर प्रसाईको महाअभियानलाई समर्थन गर्न आएको उनले बताएका छन् । डा. बरालले उनीहरुका आदेशले दूतका रुपमा मेडिकल ब्यवसायी प्रसाईको अभियानलाई सहयोग गर्न आएको जानकारी समेत दिएका छन् । उनले भारतका सम्पूर्ण साधुसन्त, नागासाधु आएर प्रसाईको काठमाडौंमा हुने कार्यक्रममा सहभागी हुनेसमेत बताएका छन् । प्रसाई र विश्व हिन्दूवादीहरुको कार्यक्रम उस्तै भएकाले समर्थन गरेको उनको भनाई छ । साधुसन्तको कुनै राज्य र सिमा नहुने भएकाले पनि नेपाललाई हिन्दू राष्ट्र स्थापना गर्न समर्थन गरेको उनको भनाई छ ।
राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउने महाअभियानका संयोजकसमेत रहेका प्रसाईले मंसीर ७ गतेदेखि व्यवस्था परिवर्तन गर्नका लागि देशैभर अभियान शुरु गर्ने बताएका छन् । उनले देशैभरबाट अभियान शुरु गर्ने र व्यवस्था परिवर्तन नहुन्जेलसम्म निरन्तर रुपमा विरोध कार्यक्रम गरिरहने बताएका छन् । प्रसाईले मंसीर ७ गते दीप प्रज्वलन गरेर महाअभियान शुरु गर्ने बताउँदै उक्त दिन कफ्र्यु लगाएर अभियान भाड्न खोजे आफ्नो जीत हुनेसमेत बताएका छन् ।