बिराटनगर।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा यमपञ्चकको दोस्रो दिन तालिम प्राप्त कुकुरको पूजा गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी केन्नाईन शाखा धरान र बिराटनगर बिमान स्थलमा रहेका १० वटा प्रहरीको तालिम प्राप्त कुकुरहरुलाई प्रहरी बैण्डबाजासहित बिधिवतरुपमा पूजा गरेका हुन् ।
उनले नेपाल प्रहरीको अपराध अनुसन्धान, विमानस्थल, विशिष्ट व्यक्तिहरुको सुरक्षा लगायत बिभिन्न अपराध अनुसन्धानमा उल्लेखनिय कार्य गर्दै आईरहेका कुकुरहरुलाई पूजा गरी माला पहिराई मिठा खाने कुराहरु खुवाएका थिए ।
पूजामा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाले समेत कुकुरहरुलाई माला र मिठा खानेकुरा दिएर पूजा गरेकी थिइन् । अपराध अनुसन्धानका लागि सबैभन्दा उपयुक्त जनावरको रुपमा लिइने कुकुरको पूजा नेपाल प्रहरीले बिशेष रुपमा गर्ने गरेको छ ।
उक्त पूजा कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, प्रदेश प्रहरी गण बिराटनगरका प्रमुखहरु, प्रहरी अधिकृतहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।