झापा । 

वैदेशिक रोजगार विभागले कामदारलाई बैदेशिक रोजगारीमा पठाएर अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारहावी र रोजगारदाता कम्पनीलाई कालोसुचिमा राखेको छ । 

विभागले साउदी अरेबियामा लामो समयदेखि नेपाली कामदारका लागि  तोकिएको सेवा सुविधा नपाएर अलपत्र पर्दासमेत उद्धार र राहतमा चासो नदिएको भन्दै नेपालबाट कामदार पठाउने म्यानपावर कम्पनीलाई निलम्बन र रोजगारदाता कम्पनीलाई कालोसूचीमा राखेको हो ।

विभागले राजधानीको गौशालास्थित दैलेख ओभरसिज प्रालिबाट साउदी अरेबियाको रियादमा रहेको अब्दुल्लाह बिन ईसा बिन हममद अल अवाईदिन जनरलकन्ट्र्याक्टिङ ईएसटीमा श्रम स्वीकृति लिएर गएका नेपाली  कामदारहरू लामो समय करार बमोजिम काम र तलब नपाएर समस्यामा पर्दासमेत उनीहरूलाई पठाउने कम्पनीले समस्या समाधानका लागि प्रभावकारी पहल नगरेको जनाएको छ । 

उक्त कम्पनीमा गएका नेपाली कामदारले दुई महिनासम्म करार अनुसारको काम, तलब र सुविधा केही पनि नपाइ अलपत्र परेको उजुरी विभागमा परेका बेला साउदी अरेबिया भ्रमणमा गएका वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दहाल र साउदीस्थित नेपाली दूतावासका कर्मचारीसमेतको टोलीले स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा नेपाली कामदारलाई तलब नदिइ एउटै कोठामा २५ जनासम्म राखेको, खान नदिएको तथा केही बिरामी परेको पाइएको विभागले जनाएको छ ।

विभागले समस्यामा रहेका कामदारहरूको उद्धार नहुन्जेल पठाउने दैलेख म्यानपावरलाई वैदेशिक रोजगार ऐनअनुसार निलम्बन गर्दै साउदी रोजगारदाता कम्पनीलमई कालोसूचीमा राखेको जनाएको छ । वैदेशिक रोजगार ऐनको दफा ६१ (६) र (७) अनुसार निलम्बन गर्दा ६ महिनासम्म म्यानपावर कम्पनीको कामकाज रोकिने गरेको छ ।