सुरुङ्गा । 

झापाको  कनकाई—४ स्थित कोटीहोम धार्मिक क्षेत्र कनकाई नदिको पूर्वी किनारमा विश्व कल्याण एवं संकट निवारणको उद्देश्यका साथ विश्व–शान्ती विराट महायज्ञ महा अनुष्ठान शुरु भएको छ ।  

विश्वका विभिन्न मुलुकमा भइरहेका हिंसात्मक घटना अन्त्यका साथै हालै गएको भूकम्पमा परि नेपालको जाजरकोट लगायत जिल्लामा ज्यान गुमाएकाहरुको आत्मा शान्तिको कामना गर्दै ॐआदि फाउन्डेसनले तीनदिने महायज्ञ महाअनुष्ठान प्रारम्भ गरेको हो ।

यो वर्ष देशका १८ स्थानमा महाअनुष्ठान गर्ने योजना बनाए अनुसार १७ औं महा अनुष्ठानका रुपमा कनकाईलाई अवसर प्राप्त भएको ॐआदि फाउन्डेसनले जनाएको छ । महायज्ञमा बाल ब्रह्‍मज्ञानी गुरु आदि चन्द्र योगीसहितका साधकहरुले विभिन्न साधनात्मक विधि प्रक्रियाहरुका साथ अखण्ड यज्ञाहुति गर्ने बताइएको छ ।

ॐआदि फाउण्डेशनको आयोजनामा कातिक २३, २४ र २५ गते तीन दिनसम्म संचालन हुने महा अनुष्ठानमा नेपालका विशिष्ट व्यक्तिहरूको समेत सहभागिता रहने बताइएको छ । प्राकृतिक रुपमा उर्जाशिल रहेको कनकाई धाम परिसरमा इतिहासकै अनौठो र अद्भूत अद्वितीय शक्ति प्राप्त हुन सक्ने विश्वासका साथ  महायज्ञ संचालन हुनु कनकाई नगरबासीका लागि गौरबको विषय भएको ठहर गरिएको छ ।

आयोजकका अनुसार महाअनुष्ठानमा १०८ कुण्डीय यान्त्रिक, तान्त्रिक एवं मान्त्रिक हवन समेत गरिने छ । अग्नि एवं जलकुण्डका रूपमा लिइएको सो हवनमा दुर्गा सप्तसती चण्डी पाठ र चार वेद अखण्ड पाठ पारायण (चार दिशामा) गरिने भएको छ । फाउन्डेसनका अनुसार तीनदिन सम्म दिव्य शिवलिंग एवं हिमालय प्रतिस्थापन, पृथ्वीयन्त्र, नवरत्न नागमणि, महाकाली स्थापना, ओमकार यन्त्र प्रतिस्थापन, चित्ताअग्नि साधना र १००८ शिवलिंग प्रतिष्ठा एवं विधिवत् अनुष्ठान गरिने छ ।

कनकाई नगरीको भुमिलाई पवित्र बनाउँने कार्यमा यो महाअनुष्ठान आयोजना हुनु नगरवासीको गौरवको विषय भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताएका छन् । नगर प्रमुख पोखरेलले यो महान कार्यलाई उत्कृष्ट बनाउँन सिङ्गो नगरबासीले सक्रियता देखाउँनु पर्नेमा जोड दिएका छन् ।