बिर्तामोड । 

वील्कन इन्डष्ट्रिज प्रालि अर्जुनधाराले उत्पादन गरेको पेवर्सको प्रयोग गर्दै निर्माण गरिएको बिर्तामोड ५ स्थित वालाजी टोलको सडक हस्तान्तरण गरिएको छ ।

निर्माण सम्पन्न भएको पाँच वर्षसम्म सडकको वारेन्टी रहेको र पाँच वर्षसम्म सडकमा कुनै समस्या नदेखिएपछि बिहीवार (आज) वालाजी टोल विकास संस्थालाई प्रालिले सो  सडक हस्तान्तरण गरेको हो ।

वडा दशैंको शुभकामना आदान–प्रदान कार्यक्रमसहित आयोजित कार्यक्रमकाबीच सो सडक प्रालिका अध्यक्ष  भीमचन्द्र भट्टराईले टोल विकास संस्थाका अध्यक्ष नरेन्द्रकुमार अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

balaji

सो समारोहमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, ५ नम्वरका वडाध्यक्ष रोहित प्रसाई, वडा नम्वर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेलगायतले सडक गुणस्तरीय भएको बताउँदै कालोपत्रे भन्दा पेवर्स प्रयोग गर्दा राम्रो हुने बताए ।

सो कम्पनीले उत्पादन गरेको पेवर्सको प्रयोग गरेको सडकमा एक सय टन सम्मको सवारी साधन प्रयोग गर्न सकिने प्रालिका अध्यक्ष भट्टराईले बताए । टोल विकास समितिका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले प्रालिका अध्यक्ष भट्टराईलाई गुणस्तरीय सडक निर्माण गरेको भन्दै प्रशंसापत्रद्वारा सम्मान समेत गरेका थिए ।

संस्थाका सल्लाहकार डा.चन्द्रशर्मा दुलालले स्वागत गरेको कार्यक्रमको संचालन संस्थाका सचिव ज्ञानेन्द्र अधिकारीले गरेका थिए ।