बिराटनगर।
झापा र सुनसरीका तीन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र ट्याब्लेटसहित पाँच जनालाइ प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१० खयरडाँगीबाट झापाको मेचीनगर नगरपालिका–१५ का २६ बर्षीय कैलाश थेबेलाई १ ग्राम ५ सय मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित शुक्रबार साँझ पक्राउ गरेको हो ।
त्यसैगरी प्रहरी चौकी बाघखोरको प्रहरी टोलीले दमक नगरपालिका–३ का २० बर्षीय उमेश गुप्तालाई ८ सय मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चकरघट्टीको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–९ सयपत्री चौक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र १ ०२ ००२ ह ९३८७ नम्बरको अटो रोकेर चेकजाँच गर्ने क्रममा अटोको पछाडी सिट मुनि लुकाएर ल्याउदै गरेको प्रतिबन्धित औषधी स्पास्मो प्रोक्जिभन १८० पिस, नाईट्रोजन पेन १०० पिस, नाईट्रो भ्याट ३० पिस सहित अटो चालक बराहक्षेत्र नगरपालिका–७ का ५२ बर्षीय केशब श्रेष्ठ, ३५ बर्षीय प्रशान्त श्रेष्ठ र २३ बर्षीय निमेश भट्टराईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।