भद्रपुर ।
खुला सिमानाका कारण झापामा भारतबाट भन्सार छलेर लत्ताकपडा लगायतका सामान तस्करी हुने क्रम बढ्दै गएको छ । प्रहरीले सीमा नाकामा कडाइँ गरेको दाबी गरे पनि भन्सार कर्मचारी र प्रहरीकै मिलिभगतमा व्यापारीले भन्सार छलेर सामान ल्याउने क्रम बढ्दै गएको हो ।
असोज ६ गते भद्रपुरका व्यापारी सोनु गुप्ताको कपडा ल्याउँदै गरेको गाडी झापाको गरामनीमा सशस्त्र प्रहरी बल शनिश्चरेको प्रहरी टोलीले पक्राउ गरेपछि भद्रपुर भन्सारबाट प्रहरी र भन्सार कर्मचारीको सेटिङमा भन्सार छलीको सामान भित्रिने क्रम नरोकिएको पुष्टि भएको छ ।
भन्सार छलेर कपडा लिएर आएको उक्त गाडी भद्रपुरबाट बिर्तामोड जाने क्रममा गरामनीमा पक्राउ गरेर प्रहरीले राजश्व कार्यालय इटहरीलाई बुझाएको छ । राजश्व कार्यालय स्रोतले उक्त गाडीमा भएको सामान चेकजाँच गर्न बाँकी रहेको जनाएको छ । स्रोतको अनुसार उक्त गाडीमा थान कपडाको बिल गरेर रेडिमेड कपडा ल्याइएको थियो ।
गुप्ताको सामान छुटाउन राजनीतिक दलका स्थानीय नेताले समेत राजश्व कार्यालय इटहरीमा पुगेर दबाब दिएको स्रोतको दाबी छ । भन्सार छलेर अवैध रुपमा सामान ल्याउने व्यापारीले दलका स्थानीय नेतालाई समेत प्रभावमा पार्ने गरेका छन् । नेताले ती व्यापारीसँग आर्थिक सहयोग लिने गरेका कारण उनीहरुको संरक्षण गर्ने गरेका हुन् ।
भारतको सिलिगुढीमा भारतीय केरियर राखेका व्यापारीले दशैं लगायत चाडपर्वको समयमा दैनिक चार सय पोकासम्म भित्र्याउने गरेका छन् । सिलिगुढीमा संकलन गरिएका सामान मध्ये केही सस्तो भन्सार काटेर ल्याउँछन् भने धेरै सामान लाइन मिलाएर ल्याउने गरेका छन् ।
झापाको विभिन्न नाकाबाट ल्याइएको लत्ता कपडा, पटका, चिनी लगायतका सामान काठमाडौंसम्म पुग्ने गरेको छ । पछिल्लो समय झापाको बाहुनडाँगी, तिरिङ, काँकरभिट्टा, कचनकवल, घेराबारी, भद्रपुर, लगायतका नाकाबाट भन्सार छलेर ल्याउने क्रम बढेको छ । भद्रपुरका व्यापारीले भद्रपुर भन्सारबाटै सेटिङमा सामान ल्याउने गरेको स्रोतको दाबी छ ।
पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआइजी अन्जनीकुमार पोखरेलले भारतबाट भन्सार छलेर कपडा लगायत अन्य सामान समेत तस्करी हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमा नाकामा कडाइँ गरिएको बताए । उनले भने, ‘सीमावर्ती क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीका सबै युनिटलाई सतर्क रहन निर्देशन दिइसकिएको छ, ड्युटीमा रहेका प्रहरीले गलत गरेको पाइए तत्काल कारबाही हुन्छ ।’
फाइल तस्वीर