झापा ।
नक्कली प्रमाणपत्र दिने १४ वटा म्यानपावर कारवाहीमा परेका छन् । वैदेशिक रोजगार विभागले जापानी भाषा परीक्षा उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरी नेपाली कामदारलाई जापान पठाएको प्रारम्भिक अनुसन्धानका आधारमा १४ म्यानपावर कम्पनीलाई निलम्बन गरेको हो ।
विगत १२ वर्षदेखि तत्कालीन श्रम मन्त्रालय र हालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अनुमति प्राप्त जाईका अल्मुनाई एशोसिएसन अफ नेपाल (जान) ले जापान जाने नेपाली कामदारको भाषा संस्कृति सम्बन्धी परीक्षा लिने गरेको छ । ‘जान’ले लिने परीक्षा उत्तीर्ण गरेका आवेदकहरु मात्रै जापानको श्रम स्वीकृतिका लागि जान योग्य मानिन्छन् ।
तर ‘जान’मा भाषा परीक्षाका लागि आवेदन नै नगरेका केही युवा विभागबाट श्रम स्वीकृति लिएर रोजगारीका लागि जापान पुगेको स्पष्ट भएपछि वैदेशिक रोजगार विभागले निर्देशक कविराज उप्रेतीको संयोजकत्वमा छानबिन समिति गठन गरी अनुसन्धान गराएको थियो । समितिको छानबिनको निष्कर्षको आधारमा विभागले निलम्बन गरेर थप अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ।
निलम्बनमा पर्ने म्यानपावर कम्पनीहरूमा गुड लाइफ इन्टरनेशनल इम्प्लोइमेन्ट एजेन्सी प्रालि, सत्यवती ओभरसिज प्रालि, डीएन इन्टरनेशनल नेपाल ओभरसिज इम्प्लोइमेन्ट एजेन्सी प्रालि, रोयल ओभरसिज नेपाल प्रालि, जब्स ग्लोबल डट कम इम्प्लोइमेन्ट सर्भिस प्रालि, रहेका छन् । त्यसैगरी लायन्स इन्टरनेशनल नेपाल प्रालि, भण्डारी ओभरसिज प्रालि, वर्ल्ड फेभर ओभरसिज प्रालि, नाप इन्टरनेशनल प्रालि, मञ्जुश्री ओभरसिज सर्भिस प्रालि, एएनएस एशोसिएट्स प्रालि, क्यापिटल इन्टरनेशनल म्यानपावर प्रालि, ग्राण्ड सुइट जब प्रालि र अक्सन इन्टरनेशनल प्रालिलाई बिभागले निलम्बन गरेको छ ।
विभागले १४ वटा म्यानपावर कम्पनीले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको नक्कली प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिइ नेपाली कामदारलाई जापान पठाएको हालसम्मको अनुसन्धानबाट देखिएको बताइएको छ । उनीहरूलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ को उपदफा ७ बमोजिम निलम्बन गरी थप अनुसन्धान गर्ने र अन्य संस्थाको हकमा अनुसन्धान जारी राख्ने निर्णय गरिएको विभागले जनाएको छ । ऐनको उक्त दफामा व्यवसायीको इजाजतपत्र ६ महिनासम्म निलम्बन हुने उल्लेख छ ।