झिलझिले । 

झापाका स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरु आफ्नो हकहितको लागि चरणबद्ध संघर्षमा जुटेका हुन् ।शुक्रबार झापाका १५ वटै स्थानीय तहका कर्मचारीले आफ्नो अधिकार र हकहितका लागि सरकार विरुद्ध आन्दोलन गर्न संघर्ष समितिनै बनाएका छन् । गएको असोज ८ गतेको स्थानीय तहका कर्मचारीको भेलाले जिल्ला स्तरिय संघर्ष समिति गठन गरेको थियो ।

जिल्लाको संघर्ष समितिको बैठकले १७ बुँदाको एजेन्डा तयार गर्दे सरकारलाई दवाव दिन पालिका स्तरिय संघर्ष समिति गठन गर्ने निर्णय गरेको थियो । फलस्वरुप जिल्लाका १५ वटै स्थानीय तहमा संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐनको माग गर्दे कर्मचारी आन्दोलित भएका हुन् ।  

झापाको शिवसताक्षीमा पनि कर्मचारीको भेलाले संघर्ष समिति गठन गरेको छ । कार्यालयका लेखा अधिकृत प्रकाश योङहाङको अध्यक्षतामा भएको कर्मचारीको भेलाले वडा नम्बर ६ का वडा सचिव विमल बास्कोटाको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन गरेको हो । 

सरकारले संघीय नियामती सेवा ऐन, २०८० को बिधेयक मन्त्रीपरिषदमा पारित गरी संघीय संसद्मा पेश गर्ने भनिरहदा उक्त निजामती सेवा बिधेयकमा रहेका  प्रावधानहरुले स्थानीय तहमा कार्यरत कर्मचारीलाई नसमेटेको आन्दोलनरत कर्मचारीले गुनासो गरेका छन् ।

त्यसैगरि जिल्ला स्तरिय स्थानीय तह कर्मचारी संघर्ष समितिले शुक्रबारै जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानमन्त्रीको कार्यालयलाई १७ बुँदे मागसहित ध्यानाकर्षणको लागि ज्ञापन पत्र समेत बुझाएको छ ।