सुरुङ्गा ।
झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र श्री कनकाई धाम धार्मिक विकास संस्थाको आगामी असोज १५ गते हुने निर्वाचनका लागि स्वतन्त्र समुहका उम्मेद्वारले प्रचारप्रसारलाई तिब्र बनाएका छन् ।
कनकाई नगरपालिका वडा नम्बर ४ मा रहेको संस्थाको निर्वाचनका लागि स्वतन्त्र समुहका अध्यक्ष पदका उम्मेद्वार शेरबहादुर थापा नेतृत्व प्यानलले चुनावी प्रचारप्रसारलाई तिब्र पारेको हो ।
थापा नेतृत्वको स्वतन्त्र नागरिक कार्य सम्पादन समुहले १५ बुँदे प्रतिबद्धतासहित चुनावी प्रचारप्रसारलाई तिब्र बनाएको बिहीवार (आज) सुरुङ्गामा पत्रकार भेटघाट गरी जानकारी दिएको छ ।
.थापा नेतृत्वको प्यानल निर्वाचित भए ३ वर्षे कार्यकाल भित्रमा योगी नरहरीनाथको स्मृतीमा महायज्ञ संचालन गर्ने, ॐकार परिवारको धार्मिक तथा सांस्कृतिक पहिचान झल्कने गरी योगी नरहरीनाथ स्मृति संग्रालय स्थापना गर्ने, हाल सञ्चालमा रहेको संस्कृत पाठशालाको स्तरउन्नती गरी ५० भन्दा बढी विद्यार्थीहरुलाई वैद्धिक शिक्षा प्रदान गर्ने, लेखा प्रणालीलाई चुस्तदुरुस्त बनाउने, नरहरीनाथको स्मृतिमा सन्तमहन्त, धार्मिक तथा बौद्धिक व्यक्तित्वहरुको उपस्थित गराएर धार्मिक महोत्सव गर्ने, आधुनिक पद्धति अपनाई व्यवस्थित रुपमा गौ पालनको शुरुवात गर्ने प्रतिवद्धता गरेको छ ।
त्यस्तै निर्माण कार्य अधुरो रहेको मेची महाकाली भवन लगायत अन्य अधुरा रहेका निर्माण कार्यलाई पूरा गर्ने, देश विदेशबाट आउने धार्मिक पर्यटकहरुलाई बासस्थानको लागि सुविधा सम्पन्न धर्मशाला निर्माण गर्न पहल गर्ने, साधुसन्त निवासको निमार्ण सम्पन्न गरी भन्डाराको व्यवस्था गर्ने, अक्षयको कोष स्थापनाको पहल गर्ने, धामको सौन्दर्य विकासका लागि फूल वगैचा निमार्ण गर्ने, जनचेतना मूलक कार्यक्रम सञ्चालन गरी कोटीहवन परिसर भित्र मध्यपान, धूम्रपान सेवन कार्यलाई निरुत्साहित गर्ने, महत्वपूर्ण धार्मिक स्थल भएकाले स्तरउन्नतिका लागि स्थानिय, प्रदेश र संघीय सरकार तथा अन्य संघ संस्था र दाताहरुसँग वजेटका लागि पहल गर्ने, सवैसँग समन्वय गर्दै नीतिगत निर्णय गरि समन्वयात्मक रुपमा एकीकृत कार्यक्रमहरु संचालन गर्नेलगायतका प्रतिबद्धता गरेको छ ।
स्वतन्त्र प्यानलमा कुनैपनि पार्टीमा नभएका उम्मेद्वार रहेको अध्यक्ष पदका उम्मेद्वार थापाले बताएका छन् । धार्मिक संस्थामा सिट बाडफाँड गरेर निर्माण हुन लागेको देखेर स्वतन्त्र रुपमा शेरबहादुर थाप नेतृत्वको स्वतन्त्र प्याल खडा गरी उम्मेद्वारी दिएको चुनाव प्रचारप्रसार समितिका संयोजक भिमप्रसाद अभिकारीले जानकारी दिए ।
पर्यटकीय स्थलका रुपमा रहेको उक्त धार्मिक संस्था अगाडी नबढेको बताउँदै त्यसलाई अगाडी बढाउने योजना आफु नेतृत्व प्यानलसँग भएको अध्यक्ष पदका उम्मेद्वार थापालेले दाबी गरे । उनले दलहरुको छबी गिर्दै गइरहेको अवस्था रहेकाले सवैले मतदान गर्ने र आफु नेतृत्व प्यानलै निर्वाचित हुने विश्वास ब्यक्त गरेका छन् । उनले धार्मिक संस्थामा राजनीतिकको भागबण्डा अन्त्य गर्ने उदेश्यले स्वतन्त्र समुह खडा गरेर निर्वाचनमा होमिएको बताएका छन् ।
स्वतन्त्र प्यानलका तर्फबाट अध्यक्षमा शेरबहादुर थापा, बरिष्ठ उपाध्यक्षमा डिल्लीराम बाह्रकोटी, पर्यटन उपाध्यक्षमा रामकुमार अधिकारी र धार्मिक उपाध्यक्षमा चन्द्रप्रसाद भेटवालले उम्मेद्वारी दिएका छन् । त्यस्तै महासचिवमा दिनानाथ खतिवडा, सचिवमा युवराज पौडेल र कोषाध्यक्षमा अम्बिका सुवेदी चापागाईले उम्मेद्वारी दिएका छन् ।
सदस्य पदमा सोमनाथ गौतम, लक्ष्मीप्रसाद निरौला, मोहन राजवंशी, बिन्दुराज दाहाल, हरिप्रसाद तिम्सिना, चेतप्रसाद भट्टराई, दधीराम न्यौपाने, बासुदेव रिजाल, माधव पोखरेल, लीलाप्रसाद अधिकारी, भिष्मप्रसाद पौडेल र बासुदेव निरौलालले उम्मेद्वारी दिएका छन् ।
२३ जना निर्वाचित हुने कार्य समितिमा स्वतन्त्र समुहबाट १९ जनाले उम्मेद्वारी दिएका छन् । यता बिभिन्न राजनीतिक दलको गठबन्धनको तर्फबाट नरेन्द्रप्रसाद फुँयालको प्यानलले उम्मेद्वारी दिएको छ । ३२ जनाको कार्य समिति रहने संस्थामा २३ जना निर्वाचित हुने र ९ जना निर्वाचित समितिले मनोनित गर्ने जनाइएको छ ।