बिराटनगर।

कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले गुनासो व्यवस्थापनको लागि क्यूआर कोर्ड प्रयोग सार्वजनिक गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा मंगलबार एक कार्यक्रमका बिच संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कोशी प्रदेश प्रहरीको क्यूआर कोर्डको प्रयोग सम्वन्धि कार्यविधि २०८० सार्वजनिक गरेका हुन् ।

क्यूआर कोर्डको सार्वजनिक गर्दै संगठन प्रमुख कुँवरले प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गरे । प्रहरीलाई दक्षता अभिबृद्धि गरी प्रविधिमा अब्बल बनाई नयाँ–नयाँ प्रविधि समेत भित्र्याउनु पर्ने बताए । 

उजुरी पेटीकाको डिजिटल संस्करणको रुपमा प्रदेश प्रहरी कार्यालय बिराटनगरले क्यूआर कोर्ड प्रयोगमा ल्याएको हो । आम सेवाग्राहीहरूको हितलाई मध्यनजर गरी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पीरमार्का या कैफियत भएमा सिधै क्यूआर कोर्डमार्फत सम्बन्धित जिल्लाका जिल्ला प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाई राख्न वा उजुरी गर्न सक्ने छन्। 

जिल्ला प्रहरी कार्यालय उदयपुरले सञ्चालनमा ल्याएको क्यूआर कोर्डको प्रयोग प्रभावकारी भएकोले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले यसलाई थप परिमार्जन गरी कोशी प्रदेश अन्तरगत रहेका सम्पूर्ण प्रहरी कार्यालयले  प्रयोग गर्ने गरी कार्यान्वयनमा ल्याएको हो । 

उक्त क्यूआर कोर्ड कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी, विशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश सशस्त्र प्रहरी गण बिराटनगर र कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी कार्यालयहरुमा कार्यान्वयनमा ल्याएको र ईलाका प्रहरी कार्यालय तथा चौकी स्तरसम्म एक महिना भित्र सर्वसाधारणको सहजै पहुँच हुने उपयुक्त स्थानमा राखी कार्यान्वयनमा ल्याइने जनाइएको छ ।  

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले क्यूआर कोर्डको प्रभावकारीता र कार्यान्वयनको लागि अनुगमन गर्न प्रहरी अधिकृतसहित प्राविधिक टोली खटाएको छ । साथै कोशी प्रदेश प्रहरीको क्यूआर कोर्डको प्रयोग  गर्न आम सेवाग्राहीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर आग्रहसमेत गरेको छ ।