बिर्तामोड ।
निर्माण ब्यवसायी संघ झापाले नेपाल निर्माण ब्यवसायी महासंघको १३ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा कोशी प्रदेश ‘घ’ बर्गको तर्फ सर्वोत्कृष्ट भई ‘एफक्यान एक्सिलेन्स अवार्ड’ प्राप्त गर्न सफल उद्देश्य निर्माण सेवालाई सम्मान गरिएको छ ।
संघको १५ औं साधारणसभाका अवसरमा मंगलबार (आज) बिर्तामोडमा उद्देश्य निर्माण सेवाका सञ्चालक नयन बराललाई सम्मान गरिएको हो । त्यसैगरी कन्चन निर्माण सेवा, मित्तल ट्रेड कन्र्सन र उत्कृष्ट सिमेन्ट कंक्रिट उद्योग प्रालिलाई कदरपत्रद्धारा सम्मान गरिएको छ । उनीहरुलाई संघप्रति महत्वपूर्ण भुमिका खेलेको भन्दै उच्च प्रशंसा गर्दै कदरपत्रद्धारा सम्मान गरिएको हो ।
संघका झापा अध्यक्ष मिलन बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष तथा इन्जिनियर आङदोर्जी लामाको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संघका झापा प्रथम उपाध्यक्ष रमेश अधिकारीले गरेको कार्यक्रममा प्रमुख अतिथि लामा, महासंघका केन्द्रिय उपाध्यक्ष मोहनप्रसाद अधिकारी, महासचिव रोशन दाहाल, महासंघ कोशी प्रदेशका अध्यक्ष जनसेवक भण्डारी, संघका झापा पूर्व अध्यक्ष तथा सल्लाहकार गणेश बस्नेत, मोरङ अध्यक्ष महेशकुमार मिश्रलगायतले शुभकामना मन्तव्य राखेका थिए । बत्ताहरुले निर्माण ब्यवसायीहरुका समस्या र त्यसलाई समाधान गर्ने उपायका बारेमा केन्द्रिय समितिलाई जानकारी गराएका थिए ।
प्रमुख अतिथि लामाले निर्माण ब्यवसायीको आन्दोलनसँगै नेपाल सरकारले ११ सदस्यीय समिति गठन गरेर ३/४ दिन छलफलपछि ब्यवसायीले राखेका माग सवै सम्बोधन भएको बताएका छन् ।
सोही कार्यक्रमकाबिच संघको नयाँ सदस्य लिएका २८ जना निर्माण ब्यवसायीलाई प्रमाणपत्रसमेत बितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका झापा महासचिव पुष्पराज निरौलालले गरेका थिए ।