जलथल । 

नेपाल रेडक्रस सोसाइटी जलथल उप–शाखाको १३ औं साधारण सभा आगामी असोज २७ गते शनिबार हुने भएको छ । नेपाल रेडक्रस सोसाईटी जलथल उपशाखाको गत २०७८ साल फाल्गुन १३ गते सम्पन्न भएको निर्वाचनबाट रेम खरेलको सभापतित्वमा नयाँ समिति चयन भएको थियो । 

बिगत ३ वर्षसम्म नेपाल रेडक्रस सोसाईटी जलथल उप–शाखाको वार्षिक साधारणसभा तथा लेखा परीक्षण भएको थिएन ।साधारणसभाको अवसरमा संस्थाका जग्गादाताहरू राजेन्द्र मैनाली र मैयाँ मैनालीलाई संस्थाले सम्मान गर्ने भएको छ। बिगत १८ महिनामा उल्लेखनीय कार्यहरु गर्न नसकेता पनि आगामी  नेपाल रेडक्रस सोसाईटी जलथल उपशाखाको वार्षिक साधारणसभा पश्चात र उक्त जग्गा बेचबिखनपछि भवन निर्माणको कार्यलाई अगाडि बढाइने अध्यक्ष रेम खरेलले जानकारी दिएका छन्।

तत्कालीन सभापति  विष्णुप्रसाद उप्रेतीले संस्थाको रकम हिनामिना गरेका कारण जलथल रेडक्रस लथालिङ्ग अवस्थामा रहेको थियो। नयाँ कार्य समितिले यस बिचमा नेपाल रेडक्रस सोसाईटी जलथल उपशाखाको हिनामिना भएको रुपैयाँ १२ लाख ३ हजार ६२९ मध्ये तत्कालीन कोषाध्यक्ष सुरेन्द्र बाह्रकोटीबाट मिति २०८० असार ७ गते सिटिजन्स बैंक हल्दिबारी शाखामा ६ लाख एक हजार ८१५ रुपैयाँ नगद बैक जम्मा गरेको तथा तत्कालीन सभापति विष्णुप्रसाद उप्रेतीका सहोदर भाइ रुद्रप्रसाद उप्रेतीले आफ्नो नाममा रहेको हल्दिबारी २ क किता नं. ३४८९ मध्येबाट ०–१–५ एक कठ्ठा पाँच धुर मात्र) रुपैयाँ ७ लाख ५९ हजार ८१५ मूल्य बराबर निर्धारण गरी नेपाल रेडक्रस सोसाईटी जलथल उपशाखाका कार्य समिति सदस्य अग्नीप्रसाद शिवाकोटी र सदस्य राजेन्द्र मैनालीको नाममा मिति गत असोज २ गते जग्गा रजिष्ट्रेशन पास गरी लिएको छ ।