बिर्तामोड ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र यातायात प्रभाग नेपालले बिर्तामोडमा सडक सुरक्षा सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय अभियानकारुपमा सडक सुरक्षा,जीवन रक्षा कार्यक्रम चलाउँदै आएको राजयोग सेवा केन्द्रले आज (शुक्रबार) बिर्तामोडमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले सवारी दुर्घटना मुख्य चुनौती रहेको बताइन् । सांघुरो, अव्यवस्थित सडक र द्रुत गतिका कारण बढी दुर्घटना हुने गरेको भन्दै उनले ख्याल गरेर सवारी कुदाउन सबैलाई आग्रह गरिन् । नगर प्रमुख प्रसाईले बिर्तामोड वस पार्कलाई व्यवस्थित गर्नका लागि सम्बन्धित निकायसँग छलफल भईरहेको जानकारीसमेत दिइन् । उउनले राजयोग केन्द्रले सुरु गरेको यो अभियान सह्रानिय रहेको भन्दै सफलताको शुभकामना दिइन् ।
कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले सवारी दुर्घटना न्युनिकरणका लागि सबै सचेत हुनु पर्ने बताए । दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या बढ्दै गएको भन्दै उनले ट्राफिक नियमको पालना गर्न आग्रह गरे । ट्राफिक प्रमुख न्यौपानेका अनुसार चालुआर्थिक वर्षको भदौ महिनासम्म झापामा १ सय ४४ वटा दुर्घटना भएका छन् । जसमा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ सय ५१ जना घाईते भएका छन् ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि राजयोग अन्तराष्ट्रिय केन्द्रका प्रशिक्षक तथा मधुवन ब्रह्माकुमारी मिडिया प्रभाग मधुवनका रामस्वरुप भाईजीले चालक अनुशासीत भए दुर्घटना कम हुने बताए । उनले ज्ञान कम भएकाकारण पनि सवारी दुर्घटना बढी हुने गरेको धारणा राखे । ब्रह्मकुमार गुणराज लामिछानेले विद्यालय स्तरमा दुर्घटना न्युनिकरणको शिक्षा दिन सकियो भने सकरात्मक सन्देश जाने बताए । उनले यो अभियान राष्ट्रव्यापी रहेको पनि जानकारी दिए ।
कार्यक्रम राजयोगी ब्रह्माकुमारी रबिना दिदीको सभापतित्वमा सम्पन्न भएको हो। सडक सुरक्षा,जीवन रक्षा अभियान असोज ३ गतेदेखि राष्ट्रव्यापीरुपमा सुरु भएको जनाईएको छ। कार्यक्रमको सन्चालन तुलसी भाईजीले गरेका थिए ।
सोही कार्यक्रमका विच जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुखमा भर्खरै सरुवा भएर आउनु भएका ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपानेलाई स्वागत गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले उनलाई खादा लगाएर स्वागत गरेकी थिइन् ।