झापा । 

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय तत्काल नवीकरण गर्न निर्देशन दिएको छ । धेरै म्यानपावर कम्पनीले शाखा कार्यालय नवीकरण गरेको नदेखिएपछि बिभागले सूचना प्रकाशन गरेर असोज मसान्तसम्ममा शाखा कार्यालय नवीकरण गर्न निर्देशन दिएको हो ।  कार्यविधिमा शाखा कार्यालय नवीकरण गर्दा प्रत्येक शाखा कार्यालयको एक हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था छ ।

 शाखा नवीकरण गराउँदा म्यानपावर कम्पनीहरुले निवेदनका साथमा नवीकरण दस्तुर, शेयर लगत, हालसालै अध्यावधिक गरिएको शेयर लगतको पत्र, गत आर्थिक वर्षको करचुक्ता प्रतिलिपि, शाखा कार्यालय सञ्चालन अनुमति पत्रको प्रतिलिपि, शाखा कार्यालय नवीकरण गर्ने सञ्चालक समितिको निर्णय, शाखा दर्ता गर्दा पेश गरेको नगद धरौटीको प्रतिलिपि, बैंक ग्यारेन्टीको प्रतलिपि, शाखा प्रमुख र अन्य कर्मचारीको नियुक्तिपत्र तथा विवरण र कार्यालय वहालमा रहेको भए घरवहाल सम्झौता पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

विभागले वार्षिक एक हजार कामदार पठाउने म्यानपावर कम्पनीलाई एक, दुई हजार पठाउनेलाई दुई, तीन हजार पठाउनेलाई तीन, तीनदेखि पाँच हजार पठाउनेलाई पाँच र पाँच हजारभन्दा धेरै पठाउनेलाई केन्द्रीय कार्यालयसहित सात वटासम्म शाखा सञ्चालन गर्न दिने गरेको छ ।

 विभागको तथ्यांकअनुसार हालसम्म ३२ वटा म्यानपावर कम्पनीले शाखा सञ्चालनको अनुमति लिएका छन् । तीमध्ये अधिकांशले झापाको बिर्तामोड, सुनसरीको इटहरी तथा धरान, कास्कीको पोखरा, रुपन्देहीको बुटवल, चितवनको भरतपुर र दाङमा कार्यालय सञ्चालन गरिरहेका छन् ।

shakha