झापा ।
जापानका नागरिक ड्राइभर पेशामा इच्छुक नदेखिएपछि अन्यदेशबाट ड्राइभर भित्र्याउने जापनले योजना बनाएको छ । ड्राइभरको काम गरिरहेका जापानी नागरिकहरु ६० वर्ष उमेर पुगेर वृद्ध अवस्थामा प्रवेश गरेको र युवा अवस्थाका जापानीहरु ड्राइभर पेशामा इच्छुक नदेखिएपछि जापानको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले तोकुतेई गिनोउ अर्थात विशिष्ट सीपमा दक्ष कामदार (एसएसडब्लू) प्रणाली अन्तर्गत विदेशी कामदार भित्र्याउने गृहकार्य गरिरहेको त्यहाँस्थित स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
हाल खाडीका विभिन्न मुलुकमा काम गरिरहेका र नेपालमै रहेका ड्राइभरहरुले रोजगारको राम्रो अवसर पाउन सक्ने बताइएको छ । ड्राइभरको अभाव पूरा गर्न आगामी दुई–तीन महिनाभित्र त्यहाँको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालय र अध्यागमनले यातायात उद्योगलाई पनि तोकुतेई गिनोउमा समावेश गर्न सक्ने पनि जापानी योजना रहेको आंकलन गरिएको छ ।
जापानका सार्वजनिक यातायातका सेवाहरु पर्याप्त चालक अभावका कारण विस्तार गर्न नसकिरहेको पनि समाचारमा जनाइएको छ । जापानमा काम गर्न जाने विदेशी कामदार सम्बन्धित काममा दक्ष हुनुका अतिरिक्त जापानी भाषामा पनि तोकिएको स्ट्यान्डर्ड कायम गर्नुपर्ने बाध्यता छ ।