भद्रपुर । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भद्रपुर नगरपालिका वडा नम्बर ३ को आयोजनामा नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । झापाको भद्रपुर–स्थित हात्तीमारामा सन्थाल समुदायलाई अरु समुदाय सरह आफ्नो हकअधिकार दिलाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको हो । 

प्रतिनिधि सभा सदस्य, पूर्व उपप्रधानमन्त्री तथा कृषि जलस्रोत तथा उर्जामन्त्री साथै राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले शनिवार प्रतियोगिताको उद्घाटन गरेको भद्रपुर ३ का वडाध्यक्ष तथा आयोजक समितिका सदस्य हेमबहादुर कार्की(सन्तु) ले जानकारी दिए । 

राप्रपा भद्रपुर ३ का वडाध्यक्ष पुष्प बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो । उद्घाटन कार्यक्रममा सन्थाल समुदायका माझी हाडक (मुखिया) अनिल हेमरम, राप्रपाका सह–महामन्त्री भारततेन्दु मल्लिक, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, राप्रपा युवा संगठनका झापा अध्यक्ष राजकुमार राईको बिशिष्ट आतिथ्य रहेको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन राप्रपा भद्रपुर नगर उपसभापति नरेन्द्र लिम्बुले गरेका थिए । 

 झापा र मोरङका १९ वटा टिमको सहभागीता रहने नकआउट फुटवल प्रतियोगिताको फाइनल असोज १३ गते हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ६० हजार र दोस्रो हुने टिमलाई नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका सदस्य कार्कीले जानकारी दिए । पहिलो पुरस्कार युवा संगठन झापा अध्यक्ष राजकुमार राई र दोस्रो पुरस्कार राप्रपा झापा सदस्य सागर घिमिरेले प्रायोजन गरेको बताइएको छ । 

प्रतियोगिता सम्पन्न गर्न अनुमानित ३ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।