काठमाडौं। 

काठमाडौंको गैह्रीगाउँको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । हत्यामा संलग्न भएको आशङ्कामा तीनकुने बस्ने अन्दाजी २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो ।

शुक्रबार राति दिव्य सःमिलमा चार जनाको हत्या भएको थियो । पक्राउ परेका राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । ती व्यक्तिले मदिरा सेवन गरेको पाइएको छ ।

हत्या भएका चारमध्ये तीनजना एकै परिवारका रहेको खुलेको छ । हत्या हुनेमा मिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राई छन् ।

चारवटै शवलाई पोष्‍टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍ज पठाइएको छ । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ ।