काठमाडौं । 

विदेशस्थित नेपाली दूतावासका राजदूतलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार(आज) आयोजित श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको समाधानसम्बन्धी अन्तरक्रियामा उनले विदेशमा रहेका नेपाली कामदारले अनेकन समस्या झेल्नु परेका ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिएका हुन् ।

सरकारले पहिलो पटक विदेशस्थित नेपाली राजदूतलाई बोलाएर नेपाली श्रमिक तथा कामदारले भोग्नुपरेका समस्या र कठिनाइबारे छलफल गरेको हो । कार्यक्रममा राजदूतहरूले आफ्नो रिपोर्टका साथै आगामी कार्ययोजनासमेत प्रस्तुत गरेका थिए । प्रधानमन्त्री दाहालले अन्तरक्रियामा राजदूतले उठाएका विषय सम्बोधन गर्दै निर्देशित गरेका छन् । सम्बोधनमा उनले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध, नेपालको पर्यटन प्रवर्द्धन र विदेशमा कार्यरत नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न जोड दिएका हुन् ।

पछिल्लो समय आन्तरिक रोजगारीमा देखापरेको अप्ठ्यारो अवस्थामा वैदेशिक रोजगारीले देशको युवा जनशक्तिलाई रोजगारी सिर्जनाको क्षेत्रमा सहयोग पुर्‍याएको उनको भनाइ छ ।  मुलुकको भुक्तानी सन्तुलनमा सहयोगलगायत पुँजी, सीप र प्रविधिले नेपालको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र मित्रतामा समेत सहयोग पुगेको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।

नेपालीको हकहित संरक्षण हुने, न्यूनतम सेवा सुविधाको प्रत्याभूति हुने, सामाजिक सुरक्षाको सुनिश्चितता र गुनासो सुनुवाइको प्रभावकारी संयन्त्र विकास गर्दै श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न श्रम कूटनीतिलाई थप प्रभावकारी बनाउनुपर्ने प्रधानमन्त्री दाहालको जोड थियो । 

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रदान गरिने सबै प्रकारका कन्सुलर सेवालाई सूचना प्रविधिमा आधारित बनाउँदै सहज र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिए ।  वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने कामको शुरुवात भइसकेको छ । यसलाई प्रभावकारी बनाउँदै गन्तव्य मुलुकमासमेत उपलब्ध सामाजिक सुरक्षाका योजनामा श्रमिक आवद्ध हुने व्यवस्था मिलाउन प्रभावकारी भूमिका खेल्नुपर्ने प्रधानमन्त्री दाहालले बताएका छन् । उनले केही समयभित्रै विदेशमा रहेका सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने सरकारको लक्ष्य रहेकामा उक्त लक्ष्य हासिल गर्न क्रियाशील रहन सम्पूर्ण राजदूतलाई  निर्देशित समेत गरेका छन् ।