झापा। 

झापाको कनकाई–८ स्थित लक्ष्मीपुरमा सोमवार (आज) साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बोलेरो र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा कनकाई–४ का देवराज सुवेदीको मृत्यु भएको हो । सुवेदी कनकाई स्थित प्यारागन एकाडेमीका प्रिन्सिपल हुन् ।

कनकाई–८ स्थित पूर्वपश्चिम लोकमार्गको सितल चोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ च ३२४८ नम्बरको बुलेरो र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१३ प १४१७ को मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक ५४ बर्षीय सुवेदीको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनमा संलग्न मोटरसाइकल, बुलेरो र चालक हिलिहाङ–७ बस्ने ३७ वर्षीय होमप्रकाश सेञ्चुरीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।