बिर्तामोड । 

झापाको बिर्तामोडमा श्री कृष्ण रथयात्रा निकालिएको छ । श्री कृष्ण प्राकाट्यको भोलिपल्ट भदौं २१ गते नन्द उत्सवको अवसर पारेर बिहीवार (आज) बिर्तामोडमा श्री कृष्ण रथयात्राको निकालिएको हो ।  

धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ । सोही चलन अनुसार श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा रथयात्रा निकालिएको हो । 

श्री बालाजी मन्दिर समितिका अध्यक्ष नबिन गोयलका अनुसार आज बिहान १० बजे विषेश पूजाअर्चाना गरिने र ११ बजे रथयात्रा बालाजी मन्दिरबाट शुरु गरिएको हो ।  त्यस्तै सतगुरु श्री देवचन्द्र सदनबाट पनि रथयात्रा शुरु भइ दुबै रथयात्रा बालाजी मन्दिर अगाडि शनिश्चरे रोडमा भेट भएर बिर्तामोड बजार परिक्रमा गरिएको छ । 

ratha yatra

दुबै  रथयात्रा बिर्तामोड स्थित मुक्तिचोक–इलाका प्रहरी कार्यालय छेउबाट फर्किएर मुक्तिचोक – भद्रपुर बस स्टेण्ड–मुक्तिचोक र अधुवाखोला पुल हुँदै फेरी मुक्तिचोक  भएर मन्दिरमा आएर समापन हुने बताइएको छ ।  शान्ति, धर्म रक्षा, समाज तथा मानव कल्याणको लागि यस पटक संयुक्त रथयात्रा गरिएको बालाजी मन्दिरका अध्यक्ष गोयलको भनाई छ । 

रथयात्रालाई सभ्य र भब्य बनाउनका लागि रथयात्रा समन्वय तथा ब्यवस्थापन समिति समेत गठन गरिएको थियो । समितिमा बालाजी मन्दिरका तर्फबाट अध्यक्ष नबिन गोयल, सदस्य रमेश सेडिया, सदस्य सुजित अग्रवाल, छठ समाजबाट राजकुमार शाह र सदगुरु सदनबाट युवा परिषद प्रास अध्यक्ष बिदुर खनाल, जिल्ला अध्यक्ष टहलदास ओली, कोशी प्रदेश अध्यक्ष अनिल ढुङ्गाना रहेका थिए । 

झापाको बिर्तामोडमा भएको रथयात्रामा हजारौ श्रद्धालु भक्तजनको सहभागीता रहेको थियो । त्यसैगरी झापाको भद्रपुर लगायतका स्थानमा पनि आज रथयात्रा निकालिएको थियो ।