झापा । 

वैदेशिक रोजगारीका लागि मलेशिया गएका दुई नेपाली युवा पसलको झ्यालको सिसा तोडफोडको आरोपमा पक्राउ परेका छन् । नेपालको ठेगाना र परिचय नखुलेका उनीहरुले मलेशियाको स्थानीय तमन मेलावती क्षेत्रमा रहेको  पसलको झ्यालको सिसा तोडफोड गरेका हुन् । 

मलेसियन प्रहरीले २१ र २२ वर्षका दुई नेपाली कामदार रक्सी पिएर लठ्ठीएको र उनीहरुले मुक्का हानेर पसलको सिसा फोडिदिएको बताएको छ । तोडफोडपछि सीसीटीभी फुटेज जाँचमार्फत पहिचान गरी प्रहरीले उनीहरुलाई हिरासतमा लिएको स्थानीय ‘द स्टारको अनलाइन संस्करणले खवर प्रकाशन गरेको छ । 

पसलमा आउँदा सिसा फुटेको अवस्थामा देखेपछि पसलका म्यानेजरले सीसीटीभी फुटेज जाँच गर्दा रक्सीले मातेको अवस्थामा दुई युवाले पटक–पटक मुक्का हानेर सिसा फोडेको देखिएको समाचारमा उल्लेख छ । पक्राउ परेका दुबै कामदार सोही क्षेत्रको एक व्यापारिक मलमा रहेको पसलमा हेल्परको हैसियतमा काम गर्ने गरेको बताइएको छ । 

प्रहरीले पक्राउ परेका नेपालीको चालचलन बुझ्दा उनीहरूको मलेसियामा कुनै पनि आपराधिक रेकर्ड नरहेको बताएको छ । मलेसियन प्रहरीले दुबै जनालाई हिरासतमा राखेर मलेसियन दण्ड संहिताको दफा ४२७  अन्तर्गत अनुसन्धान गरिरहेको बताएको छ । कानून उल्लंघन गर्ने जो कोहीलाई पनि कडा कारबाही गर्ने भन्दै प्रहरीले कानूनको उल्लंघन गर्ने कसैलाई छुट नहुने बताएको छ ।