झापा । 

प्रतिबन्धित लागू औषधसहित झापाबाट तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला नक्सालबारी थाना की २८ बर्षिया कल्याणी बर्मन, सोही स्थानकी २८ बर्षिया राधा सिंह र २४ बर्षिय कल्याण बर्मन रहेका छन् । 

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ स्थित एयरपोर्ट अगाडीबाट मंगलबार  लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौ, जिल्ला प्रहरी कार्यालय झापाको इन्टलिजेन्स टोली र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

कल्याणी र राधालाई शंका लागेर चेकजाँच गर्दा दुवै जनाको साथबाट प्रतिबन्धित लागू औषध ब्राउनसुगर १९७ ग्राम ८०० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई सोधपुछ गर्ने क्रममा कल्याण काँकरभिट्टा खुलेपछि सोही स्थानमा गएर प्रहरी नियन्त्रणमा लिएको हो । तीनै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।