बिर्तामोड ।
नेपाल पत्रकार महासंघ झापा शाखाले समाचारको बिषयलाई लिएर पत्रकार धम्काउनेलाई कारवाहीको माग गरेको छ । पत्रकार सुजन श्रेष्ठ बताउने व्यक्तिले मोवाइलबाट फोन गरी समाचार र फोटोको स्रोत के भन्दै झापाको कनकाई नगरपालिकाको दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित कनकाई खबर डटकम अनलाइन न्यूज पोर्टलका सञ्चालक राम निरौलाई धम्की दिनेको पहिचान गरी कारवाही गर्न महासंघले माग गरेको हो ।
‘झापा गाउँपालिकामा फेरि ब्राउन सुगरसहित दुई पक्राउ’ शीर्षकको समाचारमा प्रयोग भएको फोटोको विषयलाई लिएर नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा उक्त अनलाइनका सञ्चालक पत्रकार रामप्रसाद निरौलालाई धम्की दिइएको घटनाप्रति महासंघ झापा शाखाको ध्यानाकर्षण भएको छ ।
आफ्नो नाम सुजन श्रेष्ठ बताउने व्यक्तिले ९८६२५१५०४४ नम्बरको मोवाइलबाट फोन गरी समाचार र फोटोको स्रोत के हो ?, तत्काल बिराटनगरको बिराट टिचिङ हस्पिटल अगाडि सम्पर्कमा आउनू, नआएमा बेलुका प्रहरी पठाएर घरबाटै पक्राउ गराउने, मुद्दा हाल्ने भन्दै धम्क्याएको पीडित पत्रकार निरौलाले महासंघ झापालाई जानकारी गराएका छन् । पत्रकार निरौलाका अनुसार अज्ञात व्यक्तिले उक्त अनलाइनको पेज स्क्रिनसर्ट गरी समाचारसँग असम्वन्धित व्यक्तिको फोटो दुरुपयोग गरेर अनलाइनको बदनामी गरिरहेको छ ।
समाचार सामग्रीको विषयमा कुनै गुनासो भए प्रेस काउन्सिल वा अन्य विद्यमान कानुनी उपचारको माध्यमबाट टुंग्याउन सकिने विकल्प हुँदाहुँदै पत्रकारलाई धम्क्याउनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रता माथिको प्रहार भएको भन्दै महासंघले मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै ती ब्यक्तिको पहिचान गरी कारवाहीको माग गरेको हो । महासंघ झापा प्रेसलाई हतोत्साहित र त्रसित बनाउने कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण समेग गराएको छ ।