झापा । 

झापामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बुधवार साँझ ७ बजे शिवसताक्षी र राती १ बजे बिर्तामोडमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । 

कनकाई पुलमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा बाह्रदशी गाउँपालिका–५ की १८ वर्षीया जेसिका सिग्देल गम्भिर घाइते भएकी भएकी उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५४६३ नम्बरको मोटरसाइकलले साईकल यात्रीलाई ठक्कर दिई विपरीत दिशाबाट आइरहेको को ३१ प ९५२९ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मे ३ प ५४६३ नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका–९ का ४० वर्षीया रुद्रप्रसाद न्यौपानेको हात, ढाडमा चोट लागेको र सोही मोटरसाइकल पछाडि सवार जेसिका सिग्देलको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । 

को ३१ प ९५२९ नम्बरको मोटरसाइकल चालक दमक नगरपालिका–१ का ४० वर्षीय सुरेश राई र सोही मोटरसाइकल पछाडि इलाम जिल्ला चुलाचुली नगरपालिका–४ का २९ वर्षीय निश्चल चेमजोङ घाइते भएका थिए । घाइते दुवै जनाको टाउकोसहित हातखुट्टामा खुट्टामा चोट लागेको र उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । साइकल यात्री अर्जुनधारा नगरपालिका–५ का ६३ वर्षीय गङ्गा तामाङको दायाँ खुट्टामा सामान्य चोट लागेको र स्थानीय मेडिकलमा उपचार गरी घर फर्किसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका दुवै मोटरसाइकललाई अस्थायी प्रहरी चौकी माईधारले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी  बिर्तामोडमा बुधबार राती दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा कनकाई नगरपालिका–५ का २६ वर्षीय सागर घिमिरेको मृत्यु भएको छ । 

पूर्व–पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड ३ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ५ प ५५६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१३ प ५१४० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा ५५६८ नम्बरको मोटरसाइकल चालक घिमिरे गम्भीर घाइते भएर उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको र अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत्यु घोषित गरेको जनाइएको छ । 

५१४० नम्बरको मोटरसाइकलमा सवार भद्रपुर नगरपालिका–१० का २९ वर्षीय सरोज बस्नेत र सोही मोटरसाइकल पछाडि सवार २८ वर्षीय सकिन न्यौपाने समेत गम्भीर घाइते भएका छन् । उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।