झापा । 

यूएईमा पनि नक्कली भिसाको बिगबिगी बढेको छ । रोजगारीका झुटा विज्ञापनका कारण ठूलो संख्यामा आप्रवासीहरु ठगी र शोषणमा परेपछि त्यहाँका ठूला रोजगारदाता कम्पनी र उनीहरुसँग आवद्ध रोजगारदाताहरुले त्यस्ता ठगीबाट रोजगार आकांक्षीहरुलाई बचाउन भ्रमपूर्ण विज्ञापन बारेमा सचेत हुन र त्यस्ता विज्ञापनको पछि नलाग्नसमेत अपिल गरेका छन् । 

यूएईले रोजगारसम्बन्धी विज्ञापनको वैधता तथा आधिकारिकता जाँच गर्न एक गाइडलाइन्ससमेत जारी गरेको छ ।  शुरुमा व्यक्तिगत प्रयासमा रोजगारी खोज्नेहरुले यूएईको मानव संशाधन र एमिरेटाइजेसन मन्त्रालयले जारी गरेको प्रस्ताव पत्र प्राप्त गर्नुपर्ने र त्यसपछि रोजगार आकांक्षीले आफ्नो देशमा रहेको यूएई दूतावासमा रोजगार प्रस्तावको वैधता प्रमाणित गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ ।

भ्रमण वा पर्यटक प्रवेश भिसाले यूएईमा काम गर्ने अधिकार नदिने भन्दै मन्त्रालयले भ्रमण वा पर्यटक भिसाअन्तर्गत काम गर्दा जरिवाना र कानूनी दायित्व हुने विषयमा सचेत गराएको छ । यूएईको श्रम कानूनअनुसार कामदार भर्नाको खर्च रोजगारदाताले व्यहोर्नुपर्ने व्यवस्था छ । गत साउनमा यूएईमा धेरै नेपाली रोजगारीका लागि पुगेका छन् । साउनमा यूएईका लागि म्यानपावर कम्पनीसहित समग्रमा ११ हजार ८ सय ७८ जना गएका छन् । रोजगारीको अवसरमा वृद्धिसँगै ठगी पनि वृद्धि हुँदा नेपाली पनि पीडित हुन सक्ने आंकलन गरिएको छ ।