बिर्तामोड । 

पछिल्लो समय झापामा लागूऔषध प्रयोगकर्ता तथा कारोबार वढेको भन्दै त्यसलाई न्यूनिकरण गर्न बिर्तामोड नगरपालिका वडा नम्बर ३ ले लागूऔषध बिरुद्धको महाअभियान शुरु गर्ने भएको छ । 

बिर्तामोड–३ को आयोजना तथा इलाका प्रहरी कार्यालय बिर्तामोड, बिर्तामोड नगर अस्पताल, नयाँ श्रृष्टि बिर्ताबजार र अनारमनी सोस्यल युथ क्लब बिर्तामोडको समन्वयमा महाअभियान शुरु गरिने बुधवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । 

‘दुब्र्यसन मुक्त बिर्तामोड परिकल्पना, बिर्तामोड बासीको चाहाना’ भन्ने मुल नाराका साथ बिर्तामोड–३ बाट शुरु हुने अभियान बिर्तामोडका सवै वडामा सञ्चालन गरिने बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीले जानकारी दिए । अभियानले बिद्यार्थीदेखि बृद्धबृद्धा सवै बर्ग, समुह, तथा समुदायलाई एकजुट बनाएर सामेल गराउँदै अभियान सञ्चालन गर्ने अध्यक्ष बुढाथोकीले जानकारी दिए । 

बिर्तामोड–३ का वडाध्यक्ष बुढाथोकीको बिशेष पहल र योजनामा लागू औषध बिरुद्धको अभियान शुरु हुन लागेको हो । ‘महाअभियान अन्तरगत बिर्तामोड–३ मा रहेका ३० वटै टोलको बिबरण सुरक्षित गरिनेछ’ वडाध्यक्ष बुढाथोकीले भने ‘अपराधिक गतिबिधि गर्नेको निगरानी तथा कानुनी कठघरामा उभ्याउन सामूहिक प्रयास जरुरी छ ।’ उनले बिर्तामोडलाई लागूऔषध मुक्त बनाउन सवै समक्ष अपिल गर्दै महाअभियान प्रत्येक हप्ता सञ्चालन गरिने बताएका छन् । वडाध्यक्ष बुढाथोकीका अनुसार पछिल्लो तीन बर्षमा गाँजा, चरेश, अफिम, ब्राउनसुगर, बिभिन्न चक्की, बिभिन्न सुई तथा औषधिमा पक्राउ पर्नेको संख्या उच्च रहेको छ । 

lagu auasd

इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्कीले दिएको तथ्याङ्क अनुसार इप्रका बिर्तामोडमा आर्थिक बर्ष २०७७/०७८ मा लागू औषधका ३५ वटा मुद्दा दर्ता भएका र ६३ जना पक्राउ परेका थिए । आव ०७८/०७९ मा ५३ वटा मुद्दा दर्ता भएकोमा ७९ जना पक्राउ, आव २०७९/०८० मा ४८ वटा मुद्दा दर्ता भएकोमा ७५ जना पक्राउ र आर्थिक बर्ष २०८०/०८१ को भदौ १३ गतेसम्ममा १० वटा मुद्दा दर्ता भएका छन् भने १७ जना पक्राउ परेका छन् । 

कोशी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७७/०७८ मा एकहजार ४५ जना, आर्थिक बर्ष २०७८/०७९ मा एक हजार एक सय १८ र आर्थिक बर्ष २०७९/०८० मा एक हजार एकसय ४१ जना लागूऔषध कारोवार तथा प्रयोग गरेको आरोपमा पक्राउ परेका छन् । 

वडाध्यक्ष बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो । स्वागत बिर्तामोड ३ का वडा सदस्य हरि बास्कोटाले गरेको कार्यक्रमको सञ्चालन वडासचिव भिम अधिकारीले गरेका थिए । कार्यक्रममा बिर्तामोड नगर अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. सुनिल अधिकारीले पनि आफ्नो भनाई राखेका थिए । पत्रकार सम्मेलनमा वडाका जनप्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।